काठमाडौं २ भदौ । सत्तारुढ नेकपा -माओवादी केन्द्र_ ले बिहीबार पार्टीका अपूर्ण कमिटीहरुलाई पूर्णता दिने भएको छ । यसका लागि लगभग पार्टीमा सहमति भइसकेको माओवादी केन्द्रले जनाएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटव्यूरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने विषयमा छलफल भएको थियो । केन्द्रीय कमिटी, पोलिटव्यूरो, स्थायी कमिटी र पदाधीकारी आज बस्ने पार्टी स्थायी कमिटी बैठकले टुङ्गो लगाउने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् ।
प्रवक्ता महराका अनुसार बैठक बिहान ९ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । माओवादीमा अध्यक्षबाहेक अन्य पदाधीकारी चयन हुन सकेको छैन । अन्य कमिटीहरुले पनि पूर्णता पाउन सकेको छैन ।
महासचिवमा देव गुरुङको सम्भावना
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेता देव गुरुङलाई महासचिव बनाउने तयारी गरेका छन् । बुधबार बसेको स्थायी समिति बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य बिहीबार टुंग्याउने निर्णता गरेको थियो ।
माओवादी उच्च स्रोतका अनुसार प्रचण्डले बिहीबार महासचिवमा देव गुरुङको नाम घोषणाको तयारी गरेका छन् । माओवादीको महासचिवमा नेताहरु जनार्दन शर्मा र वर्षमान पुन आकांक्षी थिए । तर प्रचण्डले ती दुईमध्ये कुनै एक जनालाई महासचिवको जिम्मेवारी दिँदा अर्को नेतासँग सम्बन्ध बिग्रन सक्ने आंकलन गरी तेस्रो विकल्प खोजी गरेको माओवादी स्रोतले बताएको छ ।