चितवन १३ फागुन ।
यहाँ बन्दै गरेकोे चितवन प्रदर्शनी केन्द्रमा निर्माणसँगै अन्तरराष्ट्रिय र राष्ट्रियस्तरका प्रदर्शनी हुँदै आएका छन् । हालसम्म निर्माणको ७० प्रतिशत काम सम्पन्न भएको छ ।
निर्माणकै क्रममा दुई वटा अन्तर्रा्ष्ट्रिय र चार वटा राष्ट्रियस्तरका प्रदर्शनी भइसकेका छन् । चितवन उद्योग सङ्घको नेतृत्वमा विसं २०७४ को असार १० गतेदेखि निर्माण थालिएकामा कात्तिक १७ गते पहिलो प्रदर्शनी भएको थियो । सङ्घका अध्यक्ष भेषराज दुवाडीका अनुसार पहिलो प्रदर्शनी अन्तर्रा्ष्ट्रिय पोल्ट्री एण्ड लाइभस्टकको गरिएको थियो । जहाँ धेरै विदेशी कक्ष रहेका थिए । पछि अन्तरराष्ट्रियस्तरकै कृषि, पोल्ट्री तथा डेरीसम्बन्धी प्रदर्शनी पनि भएको थियो ।
यही फागुन महीनामा अन्तर्रा्ष्ट्रिय फर्मा एक्सपो हुँदैछ । दुवाडीका अनुसार सन् २०२० मा पोल्ट्रीको अन्तरराष्ट्रिय एक्पोका लागि छलफल चलिरहेको छ । त्यसका अतिरिक्त अन्य धेरै उत्पादकले राष्ट्रिय र अन्तर्रा्ष्ट्रियस्तरका प्रदर्शनीका लागि कुराकानी गरिरहेको दुवाडीले बताउनुभयो ।
हालसम्म राष्ट्रियस्तरका कम्युटर एसोशिएसन नेपाल चितवन शाखाले दुई वटा, उद्योग सङ्घले एउटा, नेपाल शैक्षिक परामर्श सङ्घले एउटा प्रदर्शनी सोही ठाउँमा गरिसकेका छन् ।
सङ्घका उपाध्यक्ष त्रिलोचन कँडेलका अनुसार पहिलोपटक निर्माण शुरु गरेको तीन महीनामा पहिलो अन्तर्रा्ष्ट्रियस्तरको प्रदर्शनी शुरु गरेपछि उत्साह थपिएको हो । प्रदर्शनी केन्द्रका हल छाउने काम सम्पन्न भएपछि प्रदर्शनीसमेत गरिँदै आएकामा हाल हलमा एयरकण्डिसन जडानको काम अन्तिम चरणमा पुगेको छ । यससँगै हलको निर्माणको काम सम्पन्न हुनेछ ।
बाँकी ३० प्रतिशत काम आउँदो असारभित्र नै सक्नेगरी काम अघि बढेको छ । निर्माणाधीन फुडकोटको काम अन्तिम चरणमा पुगेको छ । सचिवालयको पहिलो तला निर्माण भई दोस्रो तलाको काम भइरहेको कँडेलले बताउनुभयो । सचिवालय दुईतले बनाइँदैछ ।
केन्द्र प्रवेश र बाहिरिने दुवै गेट निर्माण भएका छन् । हल बाहिरका शौचालय बन्दै छन् भने टायल लगाउने काम भइरहेको छ । घरेलु तथा साना उद्योग कार्यालय भरतपुरको स्वामित्वमा रहेको करीब दुई बिघा सात कट्ठा जग्गा सङ्घले २९ वर्षका लागि भाडामा लिएर केन्द्र निर्माण शुरु गरेको हो । प्रदर्शनी केन्द्र ६० हजार वर्ग फिटको रहेको छ । ठूला उपकरण प्रदर्शनीका लागि ३० हजार वर्गफिट व्यवस्थित खुला ठाउँसमेत रहनेछ । चार हजार वर्ग्फिटको फुडकोट बनाइएको छ । पाँच हजार वर्गफिटको सचिवालय बन्दैछ ।
प्रदर्शनी केन्द्रमा सूचना केन्द्र हुनेछ । केन्द्रबाट उद्योग, कृषि, पर्यटनलगायतको सूचना उपलब्ध गराइनेछ । सङ्घका अध्यक्ष दुवाडीका अनुसार काम सम्पन्न गर्न रु ४२ करोड ६४ लाख लाग्ने अनुमान गरिएको छ ।
रासस
