मिलापत्रमा टुंगो लाग्दा जघन्य अपराधमा वृद्धि

 

चितवन, २५ साउन । घरेलु हिंसाका विषयमा प्रहरीमा पुगेका अधिकांस उजुरी मिलापत्रमा टुङगो लाग्ने गरेको पाइएको छ ।
लामो समयदेखि हुने घरेलु हिंसाका घटनालाई छलफलको माध्यमबाट मिलापत्र गराएर टुंगो लगाउदा पछि जघन्य अपराघ हुने गरेको महिला अधिकारकर्मीले बताएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेलमा दर्ता भएका घटनाहरु धेरै मिलापत्रमा समाधन हुने गरेको प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो । ‘घरेलु हिंसा भनेर दर्ता गर्न आएका हुन्छन् दुइ पक्ष बिच छलफल गरेपछि मिल्ने भएमा त्यहीबाट मिलाएर पठाउने गरिएको छ’ उहाले भन्नुभयो ‘अदालती प्रकृयामा जादा लामो समय लाग्ने र झन्झटिलो मान्ने हुँदा त्यहीबाट टुंगो लाग्ने गरेको हो ।’ श्रीमान श्रीमतीको झगडाका विषयहरु, खानलगाउन नदिएको विषय, अन्य घरायसी विवादको कुरा मिलापत्र गरिएको हुन्छ उहाले भन्नुभयो ।
महिला अधिकारकर्मी तथा अधिवक्ता फुलमाया रानाभाटले भन्नुभयो ‘श्रीमान श्रीमती बिच लामोसमयदेखि विवाद भएको छ र बस्न नसकिने अवस्थामा पुगेका छन् भने त्यस्तो खण्डमा मिलापत्र होइन सम्वन्ध विच्छेद गर्नु उपयुक्त हुन्छ ।’ जिल्लामा भएका जघन्य अपराधमा धेरै घटनाहरु श्रीमानश्रीमती बिच हुने द्वन्द्वलाई मिलाउन खोज्दा पछि मानिस मारिएका छन् उहाले भन्नुभयो । वकिलले सम्वन्ध मिलाउन भन्दा छुटाउन लाग्यो भन्ने आरोप आउछ तर पछि द्वन्द्वकै कारण एकले अर्कोलाई हत्या गरेको घटना भएपछि महसुस हुने गर्दछ रानाभाटले भन्नुभयो ।
श्रीमानश्रीमती बिच कुनै एक विदेश गएर आउदा यस्ता घटना धेरै हुने गरेको छ । पछिल्लो समय वैदेशिक रोजगारीको कारणले गर्दा घरमा तनाब सिर्जना हुने गरेको र त्यसैले हत्यसम्मका घटना वृद्धि भएको उहाले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय चितवनको तथ्याङकले घरेलु हिंसाका घटना वृद्धि भएको छ । त्यसमा मिलपत्र गरेर विवादलाई मिलाउने गरिएको छ । आर्थिक वर्ष २०७६÷७७ देखि २०७८÷०७९ को असार मसान्तसम्म घरेलु हिंसाका घटना ४४३ वटा दर्ता भएका छन् । ती घटनामा खानलाउन नदिएको, कुटपिट गरेको, गाली वेइजती गरेको विषय उल्लेख गरेका छन् । आर्थिक वर्ष २०७६÷७७ मा ८४ घटना, २०७७÷७८ मा १३२ घटना र २०७८÷०७९ मा २०५ वटा घटना दर्ता भएका छन् । दर्ता भएका मध्य ३०३ वटा घटना मिलापत्रमा गएर टुङगिएका छन् । मिलापत्रमा मिलेको घटनालेपछि हिंसाको रुप लिने र ज्यान समेत गएका घटना धेरै भएको वार एसोसियसन चितवनका अध्यक्ष रामकृष्ण अधिकारीले बताउनुभयो ।
अपराधकर्मलाई मिलपत्रबाट भन्दा कानुनी उपचारबाट समाधान गर्दापछि सम्भावित दुर्घटना हुन नपाउने उहाले बताउनुभयो । वैदेशिक रोजगारीमा गएका परिवारमा श्रीमानश्रीमती बिच शंका विषयलाई लिएर मनमुटाव हुने गरेको उहाले बताउनुभयो । स्वदेशमा नै रोजगारी भएको परिवारमा भन्दा कामको लागि विदेशमा गएकाको परिवारमा घरेलु हिंसा धेरै हुने गरेको अधिकारीले बताउनुभयो ।

 

शेयर गरौ

ताजा अपडेट