चितवन १२ फागुन । खैरहनी नगरपालिकाकाले डकर्मीहरुलाई भुकम्प प्रतिरोधी भवन निर्माणको लागि तालिम दिएको छ ।
सातदिने तालिमको समापन गर्दै नगरपालिकाका प्रमुख लालमणी चौधरीले प्रविधिको उच्चतम प्रयोग गरेर तालिम अनुसारको भवन निर्माण गर्न गराउनु अनुरोध गर्नु भयो । उहाले सिपलाई प्रविधिको प्रयोगमा ढालेर भवन निर्माण गराउन पर्दछ त्यसको लागि तालिममा सिकेको सिप व्यवहारमा उतार्नु पर्ने बताउनु भयो ।
सिमित स्रोत साधनका बाबजुत पनि हामीले भूकम्प प्रतिराधी भवन निर्माण गर्नु पर्ने दायित्व रहेको उहाको भनाइ थियो ।
मेयर चौधरीले नक्सापासदेखि निर्माण स्थलसम्ममा ध्यान दिए घरधनी समस्यामा नपर्ने बताउनु भयो । उहाले मापदण्ड अनुसार भवन निर्माण गर्न गराउन समेत डकर्मीहरुलाई आग्रह गर्नु भयो । भुकम्प प्रतिरोधी भवन बनाउन केही खर्च बढि लाग्ने भएपनि भवन टिकाउन हुने मेयर चौधरीको भनाई थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले दक्षता वृद्धी गर्न तालिम आवश्यक पर्ने भएकाले माग अनुसार पुन तालिम संचालन गर्न नगरपालिकाले सहयोग गर्ने आश्वासन दिनु भयो । फागुन ६ गतेदेखि सुरु भएको तालिममा खैरहनी नगरपालिकाका इन्जिनियर राजेश कोईराला, प्रेमनारायण अधिकारी र दीपक शाहले भुकम्प प्रतिरोधी निर्माण सम्वन्धमा सहजीकरण गर्नु भएको थियो । तालिममा नगर भित्रका २४ जना डकर्मी तथा ठेकेदारहरुको सहभागीता रहेको थियो ।