चितवन, ९ साउन । वैदेशिक रोजगारीले परिवारमा ल्याएको कलहको कारण भरतपुरमा श्रीमान श्रीमतीको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका वडा नं. १० रमाइलो चोकका ४३ वर्षीय कृष्णप्रसाद आचार्यले रोजगारीको सिलसिलामा आफू विदेशमा रहदा श्रीमतीको अनैतिक सम्वन्ध भएको भन्दै आरोप लगाउदै आएका थिए । सोही विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय भरतपुरमा उजुरी परेपछि छलफलपछि श्रीमान कृष्ण आचार्य र श्रीमती रुष्मा बिच मिलेर बस्ने सहमती भएको थियो । तर उनीहरु मिलेर बस्न सकेन् । अन्तत श्रीमान कृष्णले श्रीमती रुष्मालाई खुकुरी प्रहार गरी आइतबार राति हत्या गरे । श्रीमतीको हत्या भएपछि आफू घरको चारतालाबाट हाम फालेर भाग्न खोज्दा सडकमा बजारिएर उहाँको पनि मृत्यु भयो ।
आइतबार राति श्रीमान श्रीमती बिच झगडा भएपछि श्रीमान कृष्णले श्रीमती रुष्मालाई वैठक कोठामा टिभी हेर्दैगर्दा १०ः२५ बजे खुकुरी प्रहार गरेर घाइते बनाएका थिए । यो घटना १२ वर्षीय छोरी रोयस्नाले देखेर छिमेकीलाई बोलाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले बताउनुभयो । ‘उहाँहरुको सम्बन्धका विषयमा प्रहरी कार्यालयमा तीन पटक छलफल भएर गएको देखिन्छ ’ प्रवक्ता अधिकारीले भन्नुभयो ‘ श्रीमतीको सम्वन्धका विषयमा आरोप लगाउने गरेका थिए, त्यही कारणले उग्ररुप लिएर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिन्छ ।’
आफू विदेशमा गएको वेला श्रीमतीको सम्वन्ध नराम्रो भएको भन्दै श्रीमान आचार्य असन्तुष्ट भएका थिए । प्रहरी कार्यालयका अनुसार रोजगारीको सिलसिलामा कतार बस्दै आएका आचार्य जेठमा नेपाल आउनु भएको थियो । पारिवारमा सम्बन्ध नराम्रो भएपछि श्रीमतीले प्रहरी सेलमा असार ३ गते उजुरी गरेको देखिन्छ । त्यस दिन कुरा नमिलेपछि असार १७ गते श्रीमतीको माइती पक्षका व्यक्ति संग छलफल गर्ने भनेर उठेका थिए । १७ गते माइती पक्षका व्यक्ति उपस्थित नभएपछि छलफल नगरी पुन आउने भन्दै गएका थिए । असार ३१ गते पुन प्रहरीमा आएर मिलापत्र गरेर फेर्केको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार श्रीमान र श्रीमती बिच सम्वन्ध राम्रो नभएपछि दुवैजना अलग अलग बस्दै आएका थिए ।
श्रीमतीले अंश माग गरेको र संगै बस्न नसकिने भन्दै कानुनी प्रकृयाका लागि परामर्शका केही हप्ता अगाडि आएको अधिवक्ता फूलमाया रानाभाटले जानकारी दिनुभयो । घरेलु हिंसाले चरमरुप लिदा ज्यान गएको हुन सक्ने उहाले बताउनुभयो । यसरी वैदेशिक रोजगारीको कारणले श्रीमान श्रीमती बिच सम्वन्ध विग्रेर सम्वन्ध विच्छेदको लागि आउनेहरुको सख्या वृद्धि हुदै गएको उहाले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घरेलु हिंसाका घटना पछिल्ला वर्षहरुमा वृद्धि भएको जानकारी दिएको छ । आर्थिक वर्ष २०७६÷७७ देखि २०७८÷०७९ को असार मसान्तसम्म घरेलु हिंसाका घटना ४४३ वटा दर्ता भएका छन् । ती घटनामा खानलाउन नदिएको, कुटपिट गरेको, गाली वेइजती गरेको विषय उल्लेख गरेका छन् । आर्थिक वर्ष २०७६÷७७ मा ८४ घटना, २०७७÷७८ मा १३२ घटना र २०७८÷०७९ मा २०५ वटा घटना दर्ता भएका छन् । दर्ता भएका मध्य ३०३ वटा घटना मिलापत्रमा गएर टुङगिएका छन् । मिलापत्रमा मिलेको घटनाले पछि हिंसाको रुप लिने र ज्यान समेत गएका घटना धेरै भएको अधिवक्ता रानाभाटले जानकारी दिनुभयो । वैदेशिक रोजगारीबाट उत्पन्न हुने यस्ता समस्या समाधानका लागि सरकार र समाजको ध्यान जानु पर्ने उहाले बताउनुभयो ।
