सुस्तायो खोप अभियान : डेढ लाख मात्रा कोभिशिल्ड खोप गयो खेर

 

काठमाडौं ८ साउन । नेपालमा विगत एक महिनादेखि कोरोना भाइरस संक्रमण दर बढिरहेको छ । तर सरकारले खोप अभियानलाई तीब्र बनाउनुको सट्टा वेवास्ता गर्न थालेको छ । खोप कार्यक्रम सुस्त बन्दा करिब डेढ लाख मात्रा कोभिशिल्ड खोप खेर गएको छ ।

 

खोप अभियानमा आफैं सुस्ताएको सरकारले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नगर्दा झण्डै डेढ लाख डोज कोभिसिल्ड खोपको म्याद शनिबार सकिएको हो ।

स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार बागमती प्रदेशमा मात्र गत बुधबारसम्म एक लाख ४१ हजार एक सय २० मात्रा कोभिसिल्ड खोप थियो । बिहीबार र शुक्रबार ५६ हजार खोप लगाइएको विभागले जनाएको छ । बाँकी ८५ हजार एक सय २० मात्रा कोभिसिल्ड खोपको म्याद शनिबार सकिएको छ ।

सरकारले खोप अभियानमा चासो नदिंदा अतिरिक्त मात्रा खोप त परै जाओस् काठमाडौं उपत्यकाभित्र एक मात्रा खोप लगाएका धेरैले दोस्रो मात्रा खोप पाउन सकेका छैनन् । आफूले पहिलो मात्रा खोप लगाएको चार महिना बितिसक्दा पनि दोस्रो खोप लगाउन नपाएको भक्तपुरका एक स्थानीयले बताए । स्वास्थ्य संस्थामा धेरैपल्ट गएर बुझ्दा पनि दोस्रो मात्राका लागि खोप नआएको जानकारी दिएको उनले बताए ।

पछिल्ला दिन कोभिड संक्रमणको जोखिम भने बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार कोरोना संक्रमण दर ११ दशमलव ८४ प्रतिशत देखिएको छ । गएको २४ घण्टामा १ हजार ८८ पीसीआर परीक्षणमा २ सय १६ जना र १ हजार ९ सय ८ एन्टिजेन परीक्षणमा १ सय १९ संक्रमित पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै हाल मुलुकभर सक्रिय संक्रमितको संख्या २,९७१ पुगेको छ । अघिल्लो साता संक्रमणका कारण दुई जनाको मृत्यु भएको थियो ।

 

शेयर गरौ

ताजा अपडेट