चितवन, ४ साउन । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले एक वर्षमा ३३ वटा गैंडा मरेका छन् ।
नेपालमा धेरै वासस्थान भएको चितवन निकुञ्जमा जुधेर, विरामी भएर, बुढो भएर, विरामी भएर लगायतको कारणले गैडा मर्नेको सख्या धेरै रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा चोरी शिकारीको कारण दुइवटा र अन्य कारणले दुइवटा गरी ३७ वटा गैंडा एक वर्षमा मरेका छन् ।
गैंडाको सख्या वृद्धि हुने, बलियोले कमजोरलाई आक्रमण गर्ने यो प्रकृतिको नियम भएकाले मर्नेको सख्या वृद्धि हुदैमा आत्तीन नपर्ने अधिकृत आचार्यको भनाइछ । जन्मिदै जाने र प्राकृतिक रुपले मर्ने गर्दा पनि अचम्म मान्ने गर्दा त्यो स्वभाविक नहुने बताउनुभयो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले चोरीसिकारीबाट मरेका दुईमध्ये एउटाको खाग खुर सुरक्षित रहेको जानकारी दिनुभयो । स्थानीयवासीले दुःख पाएपछि करेन्ट लगाएर सो गैँडा मारेको आशंका रहेको छ । अर्को एक भने चोरीसिकारीले मरेको पुष्टि भएको छ ।
मरेका गैँडामध्ये १८ भाले, १४ पोथी र पहिचान नभएका पाँच रहेको उहाँले बताउनुभयो । मरेका गैँडामा एक महिनादेखि ३५ वर्ष उमेर सम्मका रहेको निकुञ्जको तथ्याङकले देखाएको छ । राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा यी गैँडा मरेका हुन् ।
बासस्थान साँघुरो र घाँसे मैदानको कमीका कारण आहाराको कमीले पनि एकै ठाउँमा धेरै गैँडा हुँदा एकापसमा जुध्ने गरेको कार्यालयले जनाएको छ । नौ सय ३२ वर्गमिटरमा फैलिएको चितवन राष्ट्रिय निकुञ्जभित्र १० हजार ४९७ हेक्टर क्षेत्रफल घाँसे मैदान छ । सो क्षेत्रभित्र ४२५ ठाउँमा घाँसे मैदानको व्यवस्थापन गरिएको छ । पछिल्लो समय यी घाँसे मैदान नासिँदै गएका छन् ।
निकुञ्ज स्थापनाताका २० प्रतिशतसम्म रहेको घाँसे मैदान अहिले घटेर १० प्रतिशतभन्दा तल झरेको छ । सन् २०२१ को गैँडा गणनाअनुसार नेपालमा ७५२ गैँडा रेकर्ड भएका छन । यीमध्ये ६९४ चितवनमा रहेका छन् । यो संङख्या अघिल्लो गणना सन् २०१५ को तुलनामा ८९ भन्दा बढी हो । सन् २०१५ मा ६०५ र सन् २०११ मा ५०३ गैँडा भेटिएका थिए ।
चितवन निकुञ्जले गैंडा, पाटे बाघ, निलगाइलगायतका केही संरक्षित जनवारको मात्र गणना गर्दै आएको छ । अन्य जनवारको पनि सख्याको विषयमा जानकारी राखेपनि आवधिक रुपमा अन्य जनावरको गणना भने गर्ने गरेको छैन । गत आर्थिक वर्षमा गैंडा सहित अन्य जनावरहरुपनि मरेका छन् ।
कार्यालयले दिएको जानकारी अनुसार गैंडा ३७, अर्ना १०, पाटे बाघ ६, चितुवा एक, चित्तल ८६, भालु एक, लिनगाइ दुइ, गौरीगाइ एक, घडियाल गोही चार वटा लगायतकका जनावर एक वर्षमा २०५ वटा मरेका छन् ।


