चितवन, २ साउन ।
पत्रकार कृष्ण आचार्यमाथि भएको आक्रमणबारे अध्ययन गर्न एवम् घटनामा संलग्नलाई न्यायिक कार्वाहीका लागि ध्यानाकर्षण गराउन नेपाल पत्रकार महासंघकाे केन्द्रीय टाेली चितवन आउने भएको छ ।
उपाध्यक्ष उदय जिएमकाे संयाेजकत्वमा सचिव सृजना अर्याल र केन्द्रीय सदस्य ध्रुवकुमार रावलकाे तीन सदस्यीय टाेली चितवन खटाउने निर्णय भएको महासचिव राेशन पुरीले जानकारी दिनुभयो ।
टाेली भाेली सांझ सम्म चितवन आईपुग्ने पुरीले बताउनुभयो । जिल्ला शाखा संग समन्वय गरि टाेलीले आक्रमणकारीलाई कार्वाहीकालागि दवावमुलक कार्यक्रम समेत गर्नेछ । “अझै एकजना पक्राउ नपरेको बिषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, गृह मन्त्रालयमा समेत हामीले पक्राउका लागि ताकेता गरिरहेका छाै ।” महासचिव पुरीले भन्नुभयो ।
मुद्दा दर्ता भएका आठजना मध्ये बिधुत प्राधिकरण भरतपुरका प्रमुख राजिबकुमार सिंह पक्राउ परेका छैनन् । जिल्ला स्थित पत्रकार सम्वद्द संघसंगठनले प्रमुखलाई समेत छिटाे पक्राउ गरि कानुनी कार्वाही अगाडि बढाउन संयुक्त बक्तव्य जारी गरि आज ध्यानाकर्षण गराएका छन् । पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी , प्रेस चाैतारी चितवनका अध्यक्ष सुवास पण्डित, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस सेन्टर चितवन उपाध्यक्ष राजेन्द्र आचार्य , समाजवादी प्रेस संगठन चितवनका अध्यक्ष टिकादत्त तिमिल्सिना र मिडिया नेपाल चितवनका अध्यक्ष समिक्षा पुरिले संयुक्त बिज्ञप्ति जारी गरेका हुन् ।