पत्रकार आचार्यमाथि कुटपिट गर्नेलाई मुद्दा दर्ता, एक वर्ष कैद वा दशहजार सम्म जरिवाना हुन सक्ने

चितवन, १ साउन ।

पत्रकार कृष्ण आचार्य माथि दुर्ब्यवहार आरोपमा विद्युत प्राधिकरण भरतपुरका हाकिम सहित ८ जना विरुद्ध अभद्र व्यवहार मुद्दा जिल्ला प्रहरी कार्यालय चितवनले आज दर्ता गरेको छ ।
नारायणी अनलाइनका सम्पादक तथा सञ्चारपत्र दैनिकका प्रकाशक पत्रकार कृष्ण आचार्यमाथि कुटपिटमा संलग्न आठ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी परेको थियोे ।

कुटपिटबाट घाइते भएका सम्पादक आचार्यले शनिबार जिल्ला प्रहरी कार्यालय, भरतपुरमा पुगेरै नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र भरतपुरका कार्यालय प्रमुख राजीव कुमार सिंहसहित आठ कर्मचारीविरुद्ध किटानी जाहेरी दिएका हुन् ।

मुद्दा दर्ता हुनेमा कार्यालयका सुपरभाइजर इलेक्ट्रिकल पदमा कार्यरत जिवछ शाह, कार्यालयका सिनियर मिटर रिडर, हेमन्त ढकाल, कार्यालयका फोरम्यान इलेक्ट्रिकल पदमा कार्यरत तुलसी देवकोटा, लेखापाल पदमा कार्यरत मञ्जिमान श्रेष्ठ, मिटर रिडर हेमशंकर चौधरी, लेखापाल हरि पौडेल र सुपरभाइजर इलेक्ट्रिकल आनन्द बहादुर कुवँर रहेका छन् ।                 मुलुकी अपराध संहिता २०७४ को भाग २ को फौजदारी कसुरहरू अन्तर्गत परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसुरहरू सम्बन्धी कानुनी व्यवस्था गरिएको पाइन्छ । जसमध्ये दफा ११८ मा अभद्र व्यवहारसम्बन्धी व्यवस्था रहेको छ ।
“कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिकरूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यस्तो उद्योग गर्न हुँदैन ।”
“उपदफा (१) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ” भन्ने व्यवस्था रहेको छ ।

शेयर गरौ

ताजा अपडेट