चितवन १ साउन । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलद्वारा लिखित ‘लय छुटेको समय’ नामक पुस्तक सार्वजनिक भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय नेता डा शेखर कोइरालाले शनिबार गैंडाकोटमा पुस्तकको विमोचन गर्नु भयो । विसं २०५१ देखि २०५६ सम्म बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डा. कोइरालाले डा. पौडेललाई पढाउनु भएको थियो । पछिल्ला दिन राजनीतिमा सक्रिय रहेका डा कोइरालाले चिकित्सा विषयमा ‘एमडी’ अध्ययन गर्नु भएको छ । उहा ‘फिजिसियन’ । डा. पौडेल ‘अर्थोपेडिक सर्जन’ । चिकित्सा सेवासँगै डा. पौडेल साहित्यमा रुचि राख्नु हुन्छ ।
पुस्तक विमोचन गर्दै कांग्रेसका नेता डा. कोइरालाले डा. पौडेलले समाज बुझेर पुस्तक लेखेको धारणा राख्नु भयो । उहाले भन्नु भयो, ‘उपचारमा व्यस्त हुने चिकित्सकले लेखे पनि पुस्तकको भाषा र प्रस्तुति रुचिकर र रसिलो छ । समाजको आवश्यकता बुझेर लेखेको पाएँ, उहाँ चिकित्सकमात्रै नभएर समाजशास्त्रमा स्नातकोत्तर गरेको व्यक्ति भएका कारणले यो सम्भव भएको हो ।’
लेखक डा. पौडेलका अनुसार ‘लय छुटेको समय’ कोरोना महामारीका बेलामा लेखिएको पुस्तक हो । यसमा दुई खण्ड छन् । पहिलोमा उहाँले बिरामीसँग जोडिएका संस्मरण समेटेका छन् । बिरामीको मनोविज्ञान र आफ्नो अनुभूतिको समिश्रण समेटिएको यो खण्ड रोचक पाइन्छ । बिरामीका समस्या, अप्ठ्यारा परिस्थिति तथा बाध्यतालाई उहाले रोचक कहानीको स्वरुप दिएका छन् । डा. पौडेलले भन्नु भयो, ‘म गुरुको हातबाट किताब सार्वजनिक होस् भन्ने चाहन्थेँ त्यो आज भयो ।’
पुस्तकमा कोरोनाकालमा लेखेका केही डायरीहरूका साथै बिरामी र चिकित्सकको सम्बन्ध र समस्या जस्ता विषय समेटिएको छ । निबन्ध विधाअन्तर्गत रहेको यो किताबमा कविता, हाइकु, मुक्तक, संस्मरण र कथाहरू समेत रहेको डा. पौडेलले बताउनु भयो । दुई खण्ड रहेको पुस्तकमा ‘उपचारको उपक्रम’ भन्ने खण्डमा २२ र ‘लकडाउन डायरी’मा ३६ गरी ५८ लेखहरू रहेको छ ।
पुस्तकमा लेखकको चिकित्सकीय र समाजशास्त्रीय दुवै खाले दृष्टिकोणहरू अटाएको छ । उहाले बिरामी, रोग र उपचारसँग जोडिएर आउने निदानका उपायका साथै अनुभव र मनोभावना राखेको पुस्तकको समीक्षा गरेका एकनारायण पौडेलले जानकारी दिनु भयो । साङ्ग्रिला बुकले सो पुस्तक सार्वजनिक गरेको हो । ‘खुसीहरूको वनवास’ कविता सङ्ग्रहबाट नेपाली साहित्यमा पाइला अघि बढाएका डा. पौडेलको दुई वर्षअघि ‘कम्मरीदेखि कोभिड कहर’ पुस्तक बजारमा आएको थियो ।
विमोचन कार्यक्रममा भरतपुर अस्पताल विकास समितीका अध्यक्ष डाक्टर भोजराज अधिकारीले पुस्तकले कोरोना कालमा चिकित्सकले भोगेका विषय र आम समुदायको भोगाइका बारेमा उल्लेख भएको बताउनु भयो । ज्यादै उपयोगी पुस्तक भएको भन्दै आफू पनि उपयुक्त समय पारेर जीवन भोगाइका बारेमा देखेका विषयहरु पुस्तक मार्फत ल्याउने बताउनु भयो ।
साहित्यकार गोविन्दराज विनोदीले पुस्तकको बारेमा कविताको माध्यमबाट चर्चा गर्नु भएको थियो । नेपाली काङ्रेसका जिल्ला सभापति राजेश्वर खनालले पेसाले डाक्टर भए पनि साहित्य क्षेत्रमा कलम चलाउने पौडेल कमलो हृदय व्यक्ती भएको बताउनु भयो । साहित्य यात्राको लागि शुभकामना दिनु भयो । कार्यक्रममा चितवन, नवलपरासी छिमेकी जिल्ला र चितवनका साहित्यक व्यक्तिहरुको उपस्तिथि रहेको थियो ।