लुम्बिनी, ३० असार । बाँकेको नेपालगञ्जस्थित मेरो प्लानेट वाटरपार्कको पौडी पोखरी ९स्विमिङ पुल०मा आइतबार पौडी खेल्ने क्रममा डुबेर १४ वर्षीय अलतमस जरगरको ज्यान गयो । त्यसअघि असार ३ मा सिद्धार्थनगर रुपन्देहीमा रहेको होटल पौवाको स्विमिङ पुलमा डुबेर स्थानीय २५ वर्षीय सुमित तुलाधरको ज्यान गएको थियो । योसहित रुपन्देहीमा मात्र यही आर्थिक वर्षमा स्विमिङ पुलमा डुबेर चार जनाले ज्यान गुमाएका छन् ।
वैशाख २८ मा पौवामा मोहितकुमार तामाङ, चैत २७ मा कञ्चन गाउँपालिकामा रहेको लुम्बिनी ग्रिन भ्युमा नेत्रबहादुर फुँलाजी र वैशाख ३० मा तिलोत्तमा नगरपालिकामा रहेको बिग चियर रिसोर्टको स्विमिङ पुलमा डुबेर सन्दीप पौडेलको ज्यान गएको थियो । पछिल्लो समय लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु, बाँके, दाङ, नवलपरासीलगायतका तराईका जिल्लामा स्वदेशी तथा भारतीय पर्यटकलाई लक्षित गरेर वाटरपार्क तथा स्विमिङ पुल खोल्ने क्रम बढेको छ तर सामान्य सुरक्षा मापदण्डसमेत पालना नहुँदा मानवीय क्षति हुने दुर्घटना बढ्दै गएका छन् ।
फनपार्क तथा स्विमिङ पुल बनाउने तर सुरक्षाका लागि राम्रो प्रबन्ध नगराउँदा सुरक्षा जोखिम बढेको पीडित परिवारको गुनासो छ । भैरहवाको होटल पौवाको स्विमिङ पुलमा छोरा गुमाएका धीरेन्द्र तुलाधरले घटनाका बेला लाइफ गार्ड र पोखरीबाट निकालेर छोराले सुरुमा गरिनुपर्ने प्राथमिक उपचारसमेत नपाएको गुनासो गर्नुभयो ।
फनपार्क तथा स्विमिङ पुलमा उद्धारका लागि लाइफ गार्ड, पौडन नजान्नेका लागि सिकाउने व्यवस्था, डुबिहालेमा उद्धार र प्राथमिक उपचारका लागि दक्ष व्यक्ति राख्नुपर्ने न्यूनतम सर्त तथा मापदण्डमा पर्छन् तर यी सामान्य मापदण्डसमेत पालना नगरी फनपार्क तथा स्विमिङ पुल सञ्चालनमा रहेको पाइएको छ ।
अचम्म लाग्ने कुरा त के छ भने मापदण्डबारे अनुगमन गर्ने निकाय नै बेखबर देखिन्छन् । जिल्ला अनुगमन समिति रुपन्देहीका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी कमल पाण्डेले स्विमिङ पुल र वाटर पार्कको अनुगम नभएको स्वीकार गर्नुभयो । उहाँले तर पछिल्लो पटक रुपन्देहीमा प्रहरीमार्फत यस्ता स्थानमा मदिरा नराख्न, सेवन गर्न नदिन र सेवन गरेकालाई जान नदिन सञ्चालकहरूलाई निर्देशन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्विमिङ पुल र वाटर पार्कबारे धेरै नयाँ कुरा आइरहेका छन् । पहिला मापदण्डबारे अध्ययन गरेर अनुगमन गर्छौं ।”
रुपन्देहीमा मात्र होइन, दाङको घोराही र तुलसीपुरमा पनि उस्तै अवस्था छ । स्विमिङ पुल सञ्चालन भए पनि मापदण्ड पालन भए नभएकोबारे जानकारी नभएको दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा थापाले बताउनुभयो । “स्विमिङ पुल सञ्चालनमा छन् तर तिनले मापदण्ड पालना गरेका छन् कि छैनन् भनेर अनुगमन भएको छैन,” सहायक प्रमुख जिल्ला अधिकारी थापाले भन्नुभयो । उहाँले थप्नुभयो, “मापदण्डमा के कस्तो छ व्यवस्था अध्ययन गरेर अनुगमन गर्न सकिन्छ । हामीले पनि अध्ययन गरेका छैनौँ ।”
तर सञ्चालकले भने मापदण्डअनुसार नै सञ्चालन गरेको दाबी गर्छन् । स्विमिङ पुलमा कुनै प्रकारको खतरा नहोस् भनेर पुलमा सुरक्षा गार्डसँगै बच्चाका लागि लाइफ ज्याकेट राख्ने, मदिरा खाएर नुहाउन नदिने व्यवस्था गरेको भिङ्ग्रेली भिलेज रिसोर्टका व्यवस्थापक प्रकाश श्रेष्ठले बताउनुभयो ।
रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले घटना भइसकेपछि भने जाहेरीका आधारमा अनुसन्धान अगाडि बढ्ने गरेको बताउनुभयो । दुई वर्षसम्म यस्ता मुद्दाको अनुसन्धान म्याद हुने गरेको र अधिकांश घटना भवितव्यमा जाने उहाँले बताउनुभयो । प्रहरीले घटना भएका स्विमिङ पुललाई मापदण्ड पूरा नहुन्जेल बन्द गर्न निर्देशन दिने गरेको उहाँले जानकारी दिनुभयो । गोरखापत्र दैनिकबाट