कृषिलाई आधुनिकीकरण गरी उत्पादन निर्यात गर्ने योजना छ : नगर प्रमु्ख महतो

 

चितवन २७ असार । चितवन राष्ट्रिय निकुञ्ज र सोमेश्वर पहाडले घेरिएको माडी नगरपालिकाले अलगै पहिचान बोकेको छ ।
चितवनको सातवटा पालिका मध्य माडी विकास र जिल्लाको पहुचका हिसाबले पछाडि पारिएको आवाज उठ्दै आएको छ । जिल्लाको दक्षिण भारतसंग सिमा जोडिएको माडी नगरपालिका जान आउन निकुञ्जको बाटो भएर जानु पर्दछ । यस नगरपालिका प्रमु्ख ताराकुमारी काजी महतो यस अगाडि उपप्रमु्खको रुपमा निर्वाचित हुनु भएको थियो । पाँच वर्षे कार्यकाल अनुभव सम्हाल्नु भएका महतो अहिले नगर प्रमुखका रुपमा हुनुहुन्छ ।
कृषि कर्म गर्नेहरुको सख्या धेरै रहेकाले नगरपालिकाले कृषिलाई नै प्राथमिकता दिएर योजना अगाडि बढाएको बताउनुहुन्छ । उहाले भन्नुभयो ‘यहाँको भूमि उर्वर छ त्यसैले कृषि उत्पादनका कार्यक्रमलाई हामीले प्राथमिकता दिएका छौ । परम्परावादी भन्दा माथि उठेर व्यवसायिक खेती गर्नको लागि कार्यक्रम ल्याएका छौ । ’
आउदो आर्थिक वर्षमा हामीले आन्तरिक आयबाट मात्रै पाँच करोड रुपियाँ कृषि क्षेत्रको विकासलाई बजेट विनियोजन गरेका छौ । कृषिमा आधुनिकीकरण, आर्गानिक खेती गर्न प्रोत्साहन गर्ने, सामुहिक खेती, चक्लावन्दी खेती, कृषिमा आधुनिक औजार खरिदमा अनुदान, फलफूल खेती, भूमिगत सिचाइ, सिचाइलाई व्यवस्थित पार्नेलगायतको कार्यक्रम पालिकाले लिएको प्रमुख महतोले जानकारी दिनुभयो ।
‘माछा पालनको रुपमा जिल्लामा मात्र नभइ देशै भरी परिचित गोपालनगर छ । यो संगै यहाँ हामीले पाँच वर्ष अगाडिदेखि नै सामुहिक खेतीको अभ्यास गरेका छौ त्यो सफल पनि भएको छ’ महतोले भन्नुभयो ‘अबका दिनमा कृषिलाई व्यवसायिक गरेर निर्यात गर्ने तर्फ हाम्रो ध्यान केन्द्रीत छ । ’
कृषि पछि हामीले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर काम गर्दै आएको बताउनुभयो । माडी ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्र हो । यही नगरपालिकामा अयोध्यापुरी छ जहाँ राम मन्दिर निर्माण गरिएको छ । त्यसलाई प्रचारप्रसार गर्ने, मन्दिर आउने वातावरण मिलाउने, भौतिक संरचना निर्माणको लागि संघ सरकारसंग पहल गर्ने, ऐतिहासिक सोमेश्वर पहाड, गोद्धक, वैकुण्ठे ताल, त्रिवेणी बाल्मीकि आश्रम, चितवन राष्ट्रिय निकुञ्जको क्षेत्र, सोमेश्वरको कालिका मन्दिर, नेपाल भारतको सिमा क्षेत्र लगायतको स्थान पर्यटकको लागि अतिनै महत्वपूर्ण क्षेत्रका रुपमा रहेको छ । यसलाई प्रचारप्रसार गर्न सके नगरपालिकाले राम्रो आम्दानी गर्न सक्छ त्यसलाई हामीले दोस्रो प्राथमिकतामा राखेर काम गर्ने तयारी गरेका छौ प्रमुख महतोले भन्नुभयो ।
‘पर्यटन क्षेलाई मात्रै आन्तरिक आयबाट एक करोड ५० लाख रुपियाँ विनियोजन भएको छ । संघ, प्रदेश र अन्य स्रोतबाट आउने बजेटबाट पनि यस क्षेत्रमा लगानी गरेर आवश्यक विकास गर्न सकिन्छ’ उहाले भन्नुभयो । आन्तरिक आय थोरै रहेको नगरपालिका भएकाले चाहेर पनि ठुला भौतिक निर्माणका कार्यक्रम हामीले गर्न सकेका छैनौ । आउदा दिनमा यसलाई प्राथमिकतामा राखेर काम गर्ने तयारी रहेको उहाले बताउनुभयो ।
पाँचदली गठवन्धनबाट नेकपा माओवादी केन्द्रका उमेद्वार ऋषि काफ्लेलाई पराजित गरेर निर्वाचित हुनु भएका नेकपा एमालेका ताराकुमारी काजी महतो पालिकाको विकास निर्माणमा नै आफ्नो सबै समय दिने बताउनुहुन्छ ।

 

शेयर गरौ

ताजा अपडेट