बाजुरा २५ असार । बाजुराको बुढीगंगा नगरपालिकाको नयाँ जनप्रतिनिधि चयनका लागि भएको पुनः निर्वाचनको मतगणना चलिरहेको छ । २,९३७ मत गनिसक्दा मेयर र उपमेयर दुवैमा एमालेले अग्रता लिइरहेको छ ।
अहिलेसम्मको मतपरिणाम अनुसार मेयर पदमा एमालेका उम्मेदवार रामबहादुर बानियाँले १,७३२ मत ल्याएका छन् भने यसपछि कांग्रेसका उम्मेदवार रंगबहादुर खातीले १,०३० मत पाएका छन् ।
यस्तै उपमेयर पदमा पनि एमालेकै उम्मेदवार अगाडि छन् । जसअन्तर्गत एमालेकी उम्मेदवार मायाकुमारी खड्काले १,६८७ मत पाएकी छन् । कांग्रेसकी उम्मेदवार रीता शाहीले १,०६७ मत पाएकी छन् । गत वैशाख ३० गते भएको निर्वाचनमा धाँधली भएको भन्दै विवाद भएपछि निर्वाचन आयोगले बुढीगंगा नगरपालिका बिहीबार पुनः मतदान गराएको हो ।
दुई वडामा एमाले विजयी
बुढीगंगा नगरपालिकाका दुई वडामा एमालेकै उम्मेदवार विजयी भइसकेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमाले वडा नम्बर १ र १० मा एमालेका उम्मेदवार विजयी भएका हुन् ।
बुढीगंगा नगरपालिका( १ मा एमालेका रणबहादुर थापा ४ सय १६ मत सहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका लोग बहादुर थापाले ३ सय ५० मत मात्रै ल्याए । यस्तै बुढीगंगा नगरपालिका(१० मा पनि एमालेकै दलबहादुर सावद ५४८ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका मोहन बहादुर बुढाले ४९१ मत मात्रै ल्याउन सकेका छन् ।