काठमाडौँ २० असार । जनता समाजवादी पार्टी (जसपा)ले तीन जना मन्त्री हेरफेर गर्ने भएको छ । जसपाले भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव, कृषिमन्त्री महिन्द्रराय यादव र वनमन्त्री रामसहाय यादवलाई सरकारबाट फिर्ता बोलाउने भएको हो ।
बालुवाटार स्रोतका अनुसार आइतबार राति नै ३ जना नयाँ मन्त्रीको नाम जसपाले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफारिस गरेको हो । नयाँ मन्त्रीको रुपमा मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंह सिफारिस भएका छन् । राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र सिंहलाई कृषिमन्त्रीका रुपमा सिफारिस गरिएको जसपा स्रोतले जनाएको छ । नयाँ मन्त्रीहरुको शपथ कहिले हुने भन्ने बारे टुंगो लागिसकेको छैन । बालुवाटार स्रोतका अनुसार आजरभोलिमा नयाँ मन्त्रीहरुको शपथ हुनसक्छ ।
यसैगरी जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रहेका राजेन्द्र श्रेष्ठलाई भने परिवर्तन गरिएको छैन । पार्टीलाई फुटबाट जोगाउन जसपाले मन्त्री फेरबदल गर्न लागेको बताइएको छ ।