चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर १९ मा रहेको शहीद स्मारक कलेजको निरीक्षण गर्नुभएको छ ।
सो क्रममा मेयर दाहालले पश्चिम चितवनको पहिलो उच्च शिक्षा अध्ययन गराउने यस कलेजको शैक्षिक अवस्था, पूर्वाधार विकासबारे जानकारी लिनु भएको थियो ।
कलेजका बारेमा व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर गुरुङले ब्रिफिङ गर्नुभएको थियो । निरीक्षणका क्रममा कलेजका व्यवस्थापन र प्राध्यापकहरुले कलेजको स्तरोन्ती गर्न महागनर प्रमुख दाहालसँग माग राखेका थिए ।
मागबारे महानगर प्रमुख दाहालले आफू कलेजको विकासका लागि सकारात्मक रहेको बताउनुभयो । उहाँले कलेजको कम्पाउण्ड, गेट तथा क्यान्टिनको थप निर्माणमा सहयोग पुराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले प्राथमिकताको बारेमा कलेजको भौतिक तथा शैक्षिक गुणस्तरमा अभिभावकको भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।
विस २०५१ सालमा स्थापना भएको कलेजमा डिग्रीसम्म पढाई हुने गरेको छ । विस २०१८ सालको क्रान्तिमा यस ठाँउमा ६ जना शहीद भएका थिए । कलेजले व्यवस्थापन, शिक्षा र मानविक संकायमा अध्ययपन गराउँदै आएको छ ।
यो कलेजले पश्चिम चितवनको शैक्षिक उन्नतीमा ठूलो भूमिका निर्वाह गरेको छ ।
![](https://chitwansamachar.com/wp-content/uploads/2025/01/Messenger_creation_95690C20-AE88-428A-809C-0BCACC0C86A0-768x552.jpeg)