शंकर पोखरेलको प्रश्न : यात्रा गठबन्धनको, वहस चाँहि समाजवादको ?

 

काठमाडौँ १३ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसलाई सँगै राखेर समाजवादको वहस सम्भव नरहेको बताएका छन् ।

सोमबार नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृतिका अवसरमा आयोजित ‘नेपालमा समाजवाद , चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा बोल्दै महासचिव पोखरेलले गठबन्धनको यात्राबाट समाजवादमा जान खोज्नुलाई संगति नै नमिल्ने बताए ।

‘यात्रा गठबन्धनको, उद्देश्य समाजवादको यो मिलेकै छैन । यहाँ भएका राजनीतिक दलहरु जो वामपन्थी आन्दोलनसँग जोडिएका छौ आफ्ना दस्तावेजहरूमा नेपाली काँग्रेसलाई समाजवादी पार्टीका रुपमा स्वीकार गरेका छौ भने गठबन्धन र समाजवाद मिल्यो’, पोखरेलले भने, ‘स्वीकार गरेका छैनौ भने काँग्रेसको नेतृत्वमा गठबन्धनबाट समाजवादको कुरा मिल्दैन ।’

उनले गठबन्धन सत्ता प्राप्तिको उद्देश्यमा आधारित भएको भन्दै समाजवादका लागि होइन भन्ने कुरा कम्तिमा वामपन्थी आन्दोलनमा सहभागी नेताहरु सहमत भए मात्र समाजवादको विमर्शको अर्थ हुने बताएका छन् ।
‘अन्यथा यो विमर्श कार्यकर्ता अल्मल्याउने मेलो मात्र हो । यो राजनीतिक अभियान समाजवादका लागि होइन भन्ने स्पस्ट हुन्छ’, पोखरेलले भने, ‘नेपालमा समाजवादको निर्माण आर्थिक सामाजिक आधारमा हुन्छ ।’ उनले समाजवादतर्फको यात्राका लागि ५ वटा कुरामा सुधार गर्न सक्नुपर्ने बताएका छन् ।

त्यसका लागि हरेक नागरिकका लागि समान शिक्षा, स्वस्थ्य र सवल नागरिक, श्रमलाई आधुनिकीकरण गर्दै यन्त्र उपकरणको प्रयोग, पूँजी निर्माणको सामथ्र्य उत्पादन शक्तिको विकास अनिवार्य रहेका बताए । उनले कम्युनिस्ट आन्दोलनले सर्वहारा वर्गलाई मुक्त गर्न एक पटकको श्रमजीवि सधैंभर श्रमजीवि हुन्छ भन्ने मान्यतालाई परिवर्तन गर्न जरुरी रहेको बताए ।

शेयर गरौ

ताजा अपडेट