भरतपुरको मूख्य क्षेत्रलाई व्यवस्थित गर्ने काम सुरु भइसक्यो : दाहाल

 

चितवन, १२ असार । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको मुख्य कोर एरियामा देखिएको समस्यालाई व्यवस्थित गर्ने कामको थालनी भई सकेको बताउनु भएको छ ।
भरतपुरलाई स्मार्ट सिटीका रुपमा विकास गर्न भरतपुरको मुख्य बजार क्षेत्रमा देखिएको पार्किङ, फुटपात, स्र्माट स्ट्रट लाईट जडान, मूख्य चोकमा हाई मास्ट लाईटको जडान कार्य धमाधम भइरहेको जानकारी दिनुभयो ।
माडबारी सेवा केन्द्र, नारायणगढले आइतबार आयोजना गरेको कार्यक्रममा दाहालले भन्नुभयो ‘बजारलाई व्यवस्थित गर्न फुटपात, अटोको व्यवस्थापन काममा अगाडि बढेका छौ, उहाँले भन्नुभयो,‘विद्युतीय तारको भूमिगत गर्ने काम, गल्ली सडकको निर्माणको काम, सडक विस्तार एवम् कालोपत्रेको काम पनि भइरहेको छ । नारायणी नदीलाई सि–बिच मोडलमा विकास गर्ने लगायतका काम हुँदैछ ।’
मेयर दाहालले माडवारी सेवा केन्द्र नारायणगढले राखेको मागप्रति सकारात्मक रहेको पनि बताउनुभयो । केन्द्रले भयरहित तवरले व्यपार व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने, नियमनको नाममा जथाभावी गरिने अनुगमन र लामो समय बसोबासको आधारमा नागरिकता पाउनुपर्ने लगायतको माग राखेको थियो ।
मेयर दाहालले संघीय सरकारले नागरिकता विधयेक टेबुल गर्ने तयारीमा रहेकाले नागरिकताको विषय सम्बोधन हुने उल्लेख गर्नुभयो ।
भरतपुरको विकासका लागि पहाड सरी उभिएर अगाडि बढ्ने मेयर दाहालको भनाई छ । भरतपुरमा पछिल्लो समय निर्माण भइरहेका सिटी हल, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाल र प्रशासनिक भवन निर्माण गर्न भएको जग्गा प्राप्तीलाई ठूलो उपलब्धीको रुपमा लिएको बताउनुभयो । सहमति सहकार्यको नीति अनुसार नेत्र ज्योति संघसँग १ बिघा ८ कठ्ठा, सिटी हल निर्माणका लागि जिल्ला समवन्य समितिसँग ४ बिघा ४ कठ्ठा र क्रिकेट रंगशालाका लागि २० बिघा ४ कठ्ठा जग्गा भरतपुर महानगरपालिकालाई प्राप्त भएको जानकारी दिनुभयो ।
नेत्र ज्योति संघसँग जग्गा प्राप्त भएसँगै प्रशासनिक भवन निर्माण कार्य पनि सुरु भइसकेको छ । भरतपुर महानगरपालिकाको प्रशासनिक भवन वातावरणमैत्री, फराकिलो र प्रविधिमैत्री हुने उहाँको भनाई थियो ।

शेयर गरौ

ताजा अपडेट