चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको मुख्य कोर एरियामा देखिएको समस्यालाई व्यवस्थित गर्ने कामको थालनी भई सकेको बताउनु भएको छ ।
मेयर दाहालले भरतपुरलाई स्मार्ट सिटीका रुपमा विकास गर्न भरतपुरको मुख्य बजार क्षेत्रमा देखिएको र्पाकिङ, फुटपात, स्र्माट स्ट्रट लाईट जडान, मूख्य चोकमा हाई मास्ट लाईटको जडान कार्य धमाधम भइरहेको जानकारी दिनुभयो ।
माडबारी सेवा केन्द्र, नारायणगढले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मेयर दाहालले यस्तो बताउनु भएको हो ।
‘बजारलाई व्यवस्थित गर्न फुटपात, अटोको व्यवस्थापन काममा अगाडि बढेका छौ, ‘उहाँले भन्नुभयो,‘विद्युतीय तारको भूमिगत गर्ने काम, गल्ती सडकको निर्माणको काम, सडक विस्तार एवम् कालोपत्रेको काम पनि भइरहेको छ । नारायणी नदीलाई सि–बिच मोडलमा विकास गर्ने लगायतका काम हुँदै छ ।’
मेयर दाहालले मारवाडी सेवा केन्द्र नारायणगढले राखेको मागप्रति सकारात्मक रहेको पनि बताउनुभयो ।
केन्द्रले भयरहित तवरले व्यपार व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने, नियमनको नाममा जथाभावी गरिने अनुगमन र लामो समय बसोबासको आधारमा नागरिकता पाउनुपर्ने लगायतको माग राखेको थियो ।
मेयर दाहालले संघिय सरकारले नागरिकता विधयेक टेबुल गर्ने तयारीमा रहेकाले नागरिकताको विषय सम्बोधन हुने उल्लेख गर्नुभयो ।
भरतपुरको विकासका लागि पहाड सरी उभिएर अगाडि बढ्ने मेयर दाहालको भनाई छ । भरतपुरमा पछिल्लो समय निर्माण भइरहेका सिटी हल, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाल र प्रशासनिक भवन निर्माण गर्न भएको जग्गा प्राप्तीलाई ठूलो उपलब्धीको रुपमा लिएको बताउनुभयो । सहमति सहकार्यको नीति अनुसार नेत्र ज्योति संघसँग १ बिघा ८ कठ्ठा, सिटी हल निर्माणका लागि जिल्ला समवन्य समितिसँग ४ बिघा ४ कठ्ठा र क्रिकेट रंगशालाका लागि २० बिघा ४ कठ्ठा जग्गा भरतपुर महानगरपालिकालाई प्राप्त भएको जानकारी दिनुभयो ।
नेत्र ज्योति संघसँग जग्गा प्राप्त भएसँगै प्रशासनिक भवन निर्माण कार्य पनि सुरु भइसकेको छ ।
भरतपुर महानगरपालिकाको प्रशासनिक भवन वातावरणमैत्री, फराकिलो र प्रविधिमैत्री हुने उहाँको भनाई थियो ।