चितवन, ८ असार । कृषि उत्पादनलाई आत्मनिर्भर बनाउने योजना सहित चितवनको कालिका नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
११ हजार किसानलाई व्यवसायिक बनाउने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । वुधबार भएको ११ औं नगर सभामा प्रस्तुत गरिएको कार्यक्रममा पशुपालक किसानलाई दुधमा अनुदान दिने गरी योजना समावेश गरिएको छ । कृषिमा आत्मनिर्भर बनाउन तरकारी, मौरीपालन, केरा र च्याउ पकेट क्षेत्र घोषणा गरी मल,बीउ र उपकरणमा अनुदान दिइने जनाइएको छ ।
मकै खेती प्रर्बधनका लागि निजी क्षेत्रको संलग्नतामा उत्पादन, प्रशोधन र बजारीकरणको लागि कार्यक्रम सञ्चालन गर्ने,फलफूल उत्पादन, पुष्प व्यवसायको प्रवद्र्धनको लागि कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नगर भित्रका ११ हजार किसानहरुलाई व्यवसायिक बनाउदै कृषि उत्पादनलाई निर्यात गर्ने गरी योजना तर्जुमा गरिएको मेयर विनोद रेग्मीले नगर सभामा जानकारी दिनुभयो । कृषिलाई व्यवसायिकरण,बजारीकरण र विस्तारिकरणका लागि आवश्यक पर्ने सिँचाइ, शीतगृह, संकलन केन्द्र, सामुदायिक खेती तथा कृषि सञ्जालीकरण विकास गर्ने नीति दिइएको मेयर रेग्मीले जानकारी दिनुभयो । पशुपालन तर्फ सो नगरपालिकाले दूधमा उत्पादनमा अनुदान दिने भएको छ ।
किसानलाई दुग्ध उत्पादक सहकारी संस्था मार्फत प्रतिलिटर एक रुपैयाँ अनुदान दिने मेयर रेग्मीले बताउनुभयो । यस अघि पशुपालक किसानलाई पुरस्कृत गर्ने कामको अन्त्य गर्दै नगर भित्रका सबै किसानहरुले लाभ लिने गरी उत्पादनका आधारमा अनुदान दिने व्यवस्था गरिएको छ । कृषि तथा पशुपालनलाई रोजगारीको महत्वपूर्ण क्षेत्रको रुपमा विकास गर्न नमुना परियोजना सञ्चालन, दुधका परिकार उत्पादन गर्ने उपकरण खरिदमा अनुदान,पशुमा नश्ल सुधार,घाँसको विउ र बिरुवामा खरिदमा अनुदान,उन्नत बीउ र बेर्नाको श्रोत केन्द्र स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
स्वास्थ्य तर्फ सो नगरपालिकाले नगर भित्र बसोबास गर्ने विपन्न बर्गको निशुल्क स्वास्थ्य बिमा गर्ने, आगामी पाँच बर्ष भित्र नगरपालिकालाई पोषणमैत्री नगर बनाउन बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालन गर्ने, महिलाहरुमा हुने पाठेघरको क्यान्सर रोकथाम तथा नियन्त्रण गर्न समयमै उपचार गर्ने व्यवस्था मिलाउने,कालिका नगर अस्पतालमा भौतिक पूर्वाधार,प्रविधि,उपकरण सहित विशेषज्ञ चिकित्सकहरुको व्यवस्था गरिने छ ।
अतिविपन्न समुदायका सुत्केरी महिलाहरुलाई पोषण खर्च, ८० बर्ष माथिका ज्येष्ठ नागरिक तथा रातो कार्ड पाएका अपाङगता भएका व्यक्तिलाई घरघरमै स्वास्थ्य परीक्षण गर्ने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरिएको मेयर रेग्मीले बताउनुभयो । शिक्षा तर्फ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार निर्माण र शिक्षक दरबन्दी मिलानलाई प्राथमिकता दिएको छ । सीमान्तकृत चेपाङ सहित विपन्न समुदायका वालवालिकाहरुको शिक्षाका लागि छात्राबास सञ्चालन, कालिका कलेज स्थापना, सामुदायिक विद्यालयमा अध्यान गरेका र प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरिने छ ।
विद्यालयको पहुँचमा नभएका,बीचमै विद्यालय छाडेका बालबालिकालाई शिक्षा प्रदान गर्न विशेष प्रोत्सहान कार्यक्रम सञ्चालन, सामुदायिक विद्यालयमा बालमैत्री शिक्षण सिकाइ, शिक्षाको न्यूनतम गुणस्तरको मापदण्ड निर्धारण गरी हरेक विद्यालयमा रहेका बालविकास केन्द्रलाई नमुनाको रुपमा सञ्चालन गरिने उपमेयर विमला तामाङले जानकारी दिनुभयो । पूर्वाधार विकास तर्फ नगर भित्रका साना सडकहरुलाई मुख्य सडकसँग जोडेर चक्रपथ निर्माण, सबै सडक कालोपत्रे तथा पहाडी सडकलाई स्तरोन्नति,नगरपालिकाको भवन निर्माण सम्पन्न तथा बाँकी रहेका वडा कार्यालय तथा स्वास्थ्यचौकीको भवन निर्माण गरिने छ ।