चितवनका बालबालिकालाई विहीबारबाट खोप लगाइने

 

चितवन, ८ असार । चितवनमा विहीबारबाट ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ ।
लक्षित समूहका बालबालिकालाई फाइजर–बायोएनटेक नामक खोपको पहिलो मात्रा लगाउन लागिएको स्वास्थ्य कार्यालयका प्रमुख राम केसीले जानकारी दिनुभयो । पहिलो मात्रा लगाएको २१ दिनपछि दोस्रो मात्रा लगाउनुपर्ने छ ।
कार्यालय अनुसार ९–१४ असारसम्म पूर्वी चितवनका चारवटा पालिकामा खोप लगाइने छ । पूर्वी चितवनका पालिकाहरुमा कालिका, रत्ननगर, खैरहनी र राप्ती नगरपालिका रहेका छन् । १४–१८ असारसम्म भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकाका बालबालिकालाई खोप लगाइने कार्यालयका प्रमुख केसीले बताउनुभयो ।
चितवनमा लक्षित समूहका बालबालिका करिब ७० हजार ३८२ जना रहेको कार्यालयको अनुमान छ । बालबालिकाका लागि जिल्लामा भने ७६ हजार ८०० डोज खोप प्राप्त भएको केसीले बताउनुभयो । विद्यालयमा पढ्ने र विद्यालय बाहिरका बालबालिका सबैलाई विद्यालय खोप केन्द्रमा नै खोप लगाइने उहाले जानकारी दिनुभयो ।
५ देखि ११ वर्षसम्मका बालबालिकालाई दिइने खोप अन्य समूहका व्यक्तिलाई लगाउन नमिल्ने कार्यालयले जनाएको छ । यी समूहका बालबालिकाई फाइजर–बायोएनटेकको सुन्तला रङको क्याप र घेरा भएको भाइलको खोप लगाइन्छ । खोप लगाउँदाको दिनमा १२ वर्ष पुगेका बालबालिकालाई भने भाइलमा बैजनी रङको क्याप र घेरा भएको खोप लगाइने छ । एक भाइल खोपले १० जना बालबालिकालाई खोपको पहिलो मात्रा पुग्ने कार्यालयले जनाएको छ ।
खोप अभियानका लागि जिल्लाका ५४० विद्यालयलाई खोप केन्द्रका रुपमा प्रयोग गरिनेछ । जिल्लामा हालसम्म पाँच लाख २८ हजार ९२५ जनालाई खोपको पहिलो मात्रा, चार लाख ७० हजार ५७ जनालाई खोपको दोस्रो मात्रा र ९३ हजार ४७० जनालाई खोपको बुस्टर मात्रा लगाइसकिएको छ ।

शेयर गरौ

ताजा अपडेट