चितवन, ८ असार । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ‘मेयर होस् त यस्तो होस’ भन्ने बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
वुधबार भरतपुर महानगरपालिका–७ मध्यबिन्दु टोलस्थित प्रेमबस्ती कबर्ड हलको शिलान्यस कार्यक्रममा मेयर दाहालले सो कुरा बताउनु भएको हो । भरतपुरबासीको चाहाना तीव्र विकास, सुशासन, पारदर्शिता रहेकाले विगतको अनुभवका आधारमा यो पाँच वर्षको लागि मैदान उत्रिसकेको प्रमुख दाहालले बताउनुभयो ।
‘सबै पक्षले मलाई अत्याधिक मत दिनुभएको छ, उहाले भन्नुभयो,‘यसको लागि म ऋणी छु । यो मेरो अन्तिम कार्यकाल हो । मैले चाहेर पनि फेरि मेयर हुन पाउँदिन । समय पनि धेरै छ । काम पनि धेरै गर्ने छु । सकेको राम्रो गर्छु ।’
विकासका लागि महत्वकांक्षी भएकै कारण पहिलो कार्यकालमा भरतपुरमा सोचेको भन्दा बढी बजेट ल्याउन र विकास गर्न सकेको उहाले स्मरण गर्नुभयो । ‘विकासका लागि महत्वकांक्षी हुनु पर्छ’, उहाले भन्नुभयो,‘ महत्वकांक्षी नभएर पनि हुँदैन । हुटहुटी हुनुपर्छ, सक्रिय हुनुपर्छ । चुप लागेर माथिबाट आएको बजेटको भर परेको भए यति विकास हुने थिएन । स्रोतको सुनिश्चिता नहुँदा नहुँदा पनि धेरै काम अगाडि बढाएका थियौं ।’
मेयर दाहालले दोस्रो कार्यकालको लागि निर्वाचनको मत परिणाम नआउँदै भरतपुरको विकासको बारेमा चिन्तित भई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलसँग कुराकानी भएको उल्लेख गर्नुभयो ।