डुवान र कटानबाट मुक्त नगरपालिका बनाउने योजनामा छु : खनियाँ

 

चितवन, ७ असार । चितवन जिल्लाका सातै पालिकामा अहिले आउदो आर्थिक वर्षमा गर्ने योजना निर्माणको तयारीमा रहेका छन् ।
भर्खरै निर्वाचित भएर आएका जनप्रतिनिधिहरुले आफूले निर्वाचनको समयमा गरेको बाचालाई योजनामा राख्नको लागि व्यस्त भएका हुन् । पूर्वी चितवनको चार मध्य एक खैरहनी नगरपालिकाका प्रमुख शशीकुमार खनियाँले खोला नदीको डुवान र कटानबाट जोगाउने काम पहिलो प्राथमिकतामा राखेको बताउनु भएको छ ।
पालिकाको सस्थापक प्रमुख नेकपा एमालेका नेता लालमणि चौधरीलाई पराजीत गरेर नेपाली काँग्रेसबाट विजयी खनियाँले पालिकाले करोडौ खर्च गरेका पूर्वाधारलाई जोगाउन पनि नदीकटानलाई रोक्ने कार्यक्रमलाई प्राथमिकता दिएको जानकारी दिनुभयो ।
साना तथा ठुला खोलाको कटान र डु्वानको कारण यस पालिका सधै समस्यामा पर्दै आएको छ । गत वर्षको बाढीले लदरा खोलाको पक्की पुल भत्काउदा स्थानीयले अहिलेसम्म दुःख पाइराखेका छन् । प्रमुख खनियाँले भन्नुभयो ‘नयाँ योजना संगै भएका संरचनालाई सुरक्षित पार्न, नगरवासीको धनसम्पत्तीको रक्षा गर्नको लागि योजना निर्माणमा जुटेका छौ । ’ उहाले पालिकामा असर पार्ने चतरा खोला, कयर खोला, लदरा, वुढी रापती, ढुग्रे खोला, रापती खोलाको कटान र डुवानलाई नियन्त्रण गर्न बजेट छुट्याएर काम गर्ने तयारी रहेको जानकारी दिनुभयो ।
उहाले आफूले नगरपालिकाबाट प्राप्त गर्ने तलब भत्ता तथा शुल्कको ५० प्रतिशत रकम गरिब विपन्न परिवारका बालबालिकाको शिक्षामा खर्च गर्ने जानकारी दिनुभयो । छुट्याइएको रकम कोष निर्माण गरेर त्यहाँ सहयोग गर्न चाहनेहरुले जम्मा गरेर विपन्नको लागि दिने योजना बनाएको छु उहाले भन्नुभयो ।
‘मैले निर्वाचनको समयमा पनि भनेको थिए जनचाहना अनुसार काम गर्ने छु’ उहाले भन्नुभयो ‘त्यही योजना अनुसार मैले अहिले कार्यक्रमको तर्जुमाको लागि काम गर्दै राखेको छु । ’ नगरका विपन्न परिवारलाई नगरपालिकाले ५० प्रतिशत विमा गरिदिने, मेडिकल सेवा घरघरमा पु¥याउने, खान नपाउने परिवारलाई खाने सामग्री किनेर घरमा लैजाने, बेरोजगारलाई रोजगारीको व्यवस्था गर्ने, त्यस्तालाई काम गर्न अनुदानको व्यवस्था गर्ने, निजि र सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्न योजना ल्याउने र नियमित अनुगमन गर्ने, अस्पताललाई व्यवस्थित पारेर उपचारको व्यवस्था गर्ने, पर्यटकीय क्षेत्रको विकासको लागि बजेट छुट्याउने, भइराखेका पर्यटकीय स्थललाई व्यवस्थित पार्ने, निकुञ्जको जंगल सफारी, नयाँ होटल स्थापनाको लागि प्रोत्साहन गर्ने, संरक्षणलाई विशेष ध्यान दिने शिक्षा स्वास्थ्य पर्यटनलाई प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको जानकारी दिनुभयो ।

 

शेयर गरौ

ताजा अपडेट