अमेरिका भ्रमणबारे जानकारी गराउन प्रधानमन्त्री संसदीय समितिमा उपस्थित हुँदै

काठमाडौँ  ५ आसर । प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो आसन्न अमेरिका भ्रमणबारे जानकारी गराउन आज (आइतबार) संसदीय समिति जाँदैछन् ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले जवाफका लागि डाकेपछि प्रधानमन्त्री देउवा समितिमा उपस्थित हुन लागेका हुन् । प्रधानमन्त्री देउवा उक्त समितिमा उपस्थित भएर आसन्न अमेरिका भ्रमणबारे जवाफ दिने कार्यक्रम छ ।

बिहान १० बजे संसदीय सचिवालय, सिंहदरबारमा बस्ने बैठकमा विवास्पद ‘एसपीपी’ सम्झौताबारे सरकारको निणर्य र प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे उठेका प्रश्नहरुको जवाफ माग गरिने जनाइको छ । देउवाले सरकार प्रमुखका तर्फबाट समितिलाई जवाफ दिनेछन् ।

यसअघि शुक्रबार बसेको समितिको बैठकले एसपीपीबारे सरकारको भनाइ मौखिकरूपमा नभई लिखित रुपमा सरकारको निणर्यकै रूपमा आउनुपर्ने निष्कर्ष निकालेको थियो । सोही बैठकले परराष्ट्रमन्त्री नारायण खड्का र प्रधान सेनापति प्रभुराम शर्मालगायतसँग एसपीपीका सवालमा छलफल गरेको थियो ।

प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणको औचित्यमाथि प्रश्न उठिरहेका बेला समितिले सो भ्रमणका सिलसिलामा कुनै पनि विवादास्पद एवं स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिसँग मेल नखाने सहमति नगर्न, नगराउन सरकारलाई निर्देशन समेत दिइसकेको छ ।

शेयर गरौ

ताजा अपडेट