दोषी व्यक्तिलाई कार्वाही नहुदा बालिका बलात्कारका घटनामा कमी आएन

 

चितवन, ३ असार । बालबालिका माथि हुने यौनजन्य हिंसाका पीडकलाई दवाव र प्रभावमा छुटाउने काम हुदा घटनामा कमी आउन नसकेको आवाज उठेको छ ।
नेपाल बाल संगठन चितवनले भरतपुरमा शुक्रबार आयोजना गरेको बालबालिकामा हुने यौन हिंसा र यसको न्युनिकरण कार्यक्रममा सरोकारवालाले पीडित पक्षले न्याय नपाउदा हिंसाका घटना वृद्धि भएको बताएका छन् । महिला अधिकारकर्मी तथा पीडित महिला अनाथालय सञ्चालक मिना खरेलले राजनीति दल र शक्ति केन्द्रको दवावमा पीडक छुट्ने अवस्था आइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
उहाले पीडित व्यक्तिलाई सरकारले पुर्नस्थापनाको लागि कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभयो । जनताको सरोकारका विषयमा आवाज उठाउने राजनीतिक दलहरु यौन हिंसामा परेका महिलाको अधिकार र उनीहरुको पुर्नस्थापनाको विषयमा वोल्न नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाले पीडितलाई सुरक्षित आवास, शिक्षा र रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
असहाय केन्द्र सञ्चालक मञ्जु खाडले पीडित बालबालिका महिलाहरु होस्टायल हुने क्रम वृद्धि हुदा बलात्कारका घटनामा कमी आउन नसकेको बताउनुभयो । खाडले भन्नुभयो ‘विभिन्न दवावमा जाहेरी दिने व्यक्तिनै होस्टायल हुदा मुद्दा ओझेलमा परेको छ, होस्टायल गर्ने माथि कार्वाहीको व्यवस्था गरे दोषी उम्कन सक्ने थिएनन् ।’ पीडित बालिकालाई समाजमा सहजै बस्ने वातावरण नहुदा पटकपटक हिंसामा बाच्न बाध्य हुनेमा उहाले चिन्ता व्यक्त गर्नुभयो ।
इष्टु चितवनका अध्यक्ष शिक्षक जनकराज घिमिरेले विद्यालय तहदेखिनै यौन र नैतिक शिक्षा दिनु पर्नेमा जोड दिनुभयो । उहाले सानै उमेरका बालबालिकालाई उनीहरुमाथि हुने हिंसाका प्रकारलाई वुझाउन पाठ्यक्रममा समावेश गर्नु आवश्यक रहेको बताउनुभयो । सामाजिक सञ्चालमा आउने अनियन्त्रित छाडा भिडियोको कारणले पनि हिंसा वृद्धि गर्न मद्यत गरेकाले त्यस्ता गतिविधिलाई नियन्त्रण जरुरी रहेको बातउनुभयो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सञ्चारकर्मी प्रतिमा सिलवालले चालु आर्थिक वर्षमा यौन हिंसाका घटनाको उजुरी ४९ वटा जिल्ला प्रहरी कार्यालयमा परेको जानकारी दिनुभयो । उहाले ती मध्य १६ वर्ष मुनिका बालिकामा हुने जवरजस्ती करणीका २० वटा उजुरी परेको बताउनुभयो । विद्यायलका शिक्षकबाटै पनि यौन हिंसा भएका उजुरी परेको भन्दै ५ जना शिक्षक यसमा संलग्न भएर पनि सफाइ पाएको बताउनुभयो ।
आफ्नै परिवारबाट, नजिकका आफन्तबाट, विद्यालयका शिक्षकबाट पनि बालबालिका यौन हिंसामा परेको भन्दै यसलाई रोकथाम गर्न सरकारी तहबाटै प्रभावकारी काम हुनुपर्नेमा जोड दिइएको थियो । जिल्ला बाल संगठनका अध्यक्ष रविकिरण पौडेलको सभापतित्वमा भएको कार्यक्रममा सरकारी निकायका प्रतिनिधिहरुले जनस्तरबाट आएका सुझावलाई ध्यान दिएर आउदा दिनमा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा शिक्षाका लागि अभियान चितवनका संयोजक रामचन्द्र आचार्य, गैसस महासंघका पूर्व जिल्ला अध्यक्ष सुरेशकुमार अधिकारीलगयातले आफ्नो धारणा राखेका थिए ।

शेयर गरौ

ताजा अपडेट