काठमाडौं, १० फागुन :
पश्चिमी वायुको प्रभावले शुक्रबार काठमाडौं उपत्यकासहित देशभर आंशिक बदली हुनाका साथै केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावले काठमाडौंसहित देशको पहाडी भू–भागका केही स्थानहरुमा मध्याह्नपछि मेघगर्जनसहित छिटफुट वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन् ।
उनकाअनुसार यसको प्रभाव शुक्रबारमात्र कायम रहनेछ । शनिबारबाट मौसम पूर्णसफा हुनेछ ।
राति देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै, शनिबार देशको पश्चिमी र मध्य भू–भागका केही स्थानमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार देशको पश्चिमी र मध्य भू–भागमा सामान्यदेखि पूर्णबदली रही पहाडी भू–भागका एक/दुई स्थानहरुमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाडौं उपत्यकाको अधिकतम् तापक्रम २५.० डिग्री र न्यूनतम् तापक्रम ८.४ डिग्री सेल्सियस रहेको छ ।
सबैभन्दा बढी धनगढीको अधिकतम् तापक्रम २९.२ डिग्री सेल्सियस रहेको छ । (रासस)