चितवन, २ असार । चितवनको मेघौलीमा निउरो टिप्न जंगल गएकी एक युवतीलाई बाघले खाइरहेको अवस्थामा फेला परेको छ ।
भरतपुर महानगरपालिका वडानम्बर २७ बस्ने वर्ष २३ की पूर्व म्यादी प्रहरीसमेत रहेकी रेखा बस्नेतलाई बिहीबार बिहान बाघले वेपत्ता बनाएको थियो । खोजी गर्ने क्रममा दिउसो १२ बजे वेपत्ता भएको नजिकै बाघले खाइराखेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिनु भयो ।
वस्नेतलाई स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा निउरो टिप्न गएको वेला बाघले आक्रमण गरेर वेपत्ता बनाएको थियो । स्थानीय ९।१० जनाको सख्यामा निउरो टिप्न गएका बेला बाघले आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ ।
वेपत्ता वस्नेतलाई खोजी गर्न इलाका प्रहरी कार्यालय दिब्यनगर, इलाका प्रहरी कार्यालय फूलवारीबाट प्रहरी तथा खड्क दल गणबाट सेनाको टोली खटिएको थियो । खाइरहेको अवस्थामा फेला पारेपछि सेनाको टोलीले हवाइ फायर गरेर बाघलाई धपाएको प्रहरीले जानकारी दिएको छ । वस्नेतको शबलाई पोष्टमार्टमको लागि भरतपुर अस्पताल लगिएको छ ।
केही दिन अगाडि मात्रै चितवनमा बाघले दुइजनालाइ घाइते बनाएको थियो । गएको दुई वर्षमा निकुञ्जको बाघले आक्रमण गर्दा १७ जनाको ज्यान लिएको छ ।