अमेरिका । आरिफ शेख र सोमपाल कामीले शतकीय साझेदारी गरे पनि नेपाल बुधबार विश्वकप लिग २ क्रिकेटमा अमेरिकासँग पराजित भएको छ । अमेरिकाले मुसा क्रिकेट मैदानमा नेपाललाई ३९ रनले पराजित गर्यो ।
आरिफ र सोमपालले छैटौं विकेटमा १ सय ६ रनको साझेदारी गरे पनि अन्तिम ५ विकेट ८ रनमा गुमाउदा नेपालले पराजय भोग्नु परेको हो । २ सय ४६ रनको लक्ष्य लिएर आएको नेपाल ४७।४ ओभरमा २ सय ६ रनमा अलआउट भयो ।
अली खान र सौरभ नेत्राभाल्करले ३–३ विकेट लिदैं नेपाललाई रोकेका थिए । नेत्राभाल्करले अन्तिम ५ मध्येको ३ विकेट लिए । आरिफ र सोमपालको साझेदारी नेत्राभाल्करले नै तोडेका थिए । ४५ औं ओभरमा आरिफ ६३ रन बनाई आउट भए भने त्यसपछि नेत्राभाल्करले करण केसी १ र कप्तान सन्दीप लामिछाने ० लाई लगातार बलमा बोल्ड गरे ।
आरिफलाई आउट गरेपछि नेत्रभाल्करले सोमपाललाई रनआउट गरे । नेपालबाट आउट हुने अन्तिम ब्याटर आदिल आलम थिए । उनले अलीको बलमा मिडविकेट बाउन्ड्री लाइनमा क्याच दिन पुगे । नेत्राभाल्करले ९ ओभरमा ४४ र अलीले ८.४ ओभरमा १ मेडन राख्दै ३२ रन खर्चे ।
नेपालको सुरुआत राम्रो हुन सकेन् । कुशल भुर्तेल १० र आसिफ शेख १८ रनमा आउट भए । क्रिजमा आए लगत्तै छक्का प्रहार गरेका उपकप्तान रोहित पौडेल १९ रनमा आउट भए । देव खनाल रनआउट हुनु नेपालको दुर्भाग्य बन्यो । उनले ४७ बलमा २ चौका र १ छक्कासहित ३४ रन बनाए । अमेरिका भ्रमणमा ठुलो स्कोर बनाउन नसकेका दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भएपछि आरिफ र सोमपालले नेपाली इनिङ्स तानेका थिए । कान्तिपुरबाट