अमेरिका । करण केसीको ५ विकेट तथा ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलको शतकीय साझेदारीमा नेपालले विश्वकप लिग २ क्रिकेटमा ओमानविरुद्ध सानदार विजय हात पारेको छ । नेपालले मंगलबार शीर्ष स्थानको ओमानलाई ७ विकेटले पराजित गर्यो ।
करणको सानदार बलिङपछि टस जितेर ब्याटिङमा आएको ओमान ४६।५ ओभरमा १ सय ६३ रनमा अलआउट भएको थियो । ह्युस्टनको मोसा क्रिकेट मैदानमा आसिफ र कुशलले पहिलो विकेटमा नेपालबाट कीर्तिमानी साझेदारी गरेपछि नेपालले ३३।१ ओभरमै लक्ष्य पूरा गर्यो । आसिफ ६२ र कुशल ५६ रन बनाई आउट भए ।
यस विजयपछि नेपाल सात राष्ट्र सहभागी लिग २ मा एक स्थान माथि उक्लँदै पाँचौं स्थानमा आएको छ । नेपालले १५ खेलमा १५ अंक बटुलेको छ । १४ खेलमा १४ अंक जोडेको नामिबिया छैटौं स्थानमा झरेको छ । ओमानविरुद्ध लिग २ को ६ खेलमा नेपालको यो दोस्रो विजय हो । अन्य ४ खेलमा ओमानले नेपाललाई पराजित गरेको थियो ।
आसिफ र कुशलले पहिलो विकेटमा १ सय १४ रनको साझेदारी गरे । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालबाट ओपनिङ ब्याटिङमा पहिलो पटक शतकीय साझेदारी सम्भव भएको हो । यी दुईले नै अमेरिकाविरुद्ध सेप्टेम्बरमा ओमानमा ६६ रनको साझेदारी गरेका थिए, जुन नेपालको पहिलो विकेटमा यसअघिको उच्च स्कोर थियो ।
आसिफ र कुशलले जोडेको १ सय १४ रन एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको चौथो शतकीय साझेदारी र कुल दोस्रो उच्च साझेदारी हो । देव खनाल र दीपेन्द्रसिंह ऐरीले मार्चमा पपुवा न्यु गिनीविरुद्ध तेस्रो विकेटमा जोडेको १ सय २९ रन नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा उच्च साझेदारी हो ।
अमेरिका भ्रमणमा लिग २ को पहिलो खेलमा नेपाल बिहीबार ओमानसँग १३ रनले पराजित हुँदा आसिफ र कुशल दुवै चोटका कारण खेल खेलेका थिएनन् । अमेरिकासँग शनिबार दोस्रो खेलमा टिममा फर्किएर आसिफ र कुशलले पहिलो विकेटमा ५६ रन जोडेका थिए ।
आसिफले लगातार दोस्रो अर्धशतक बनाएका हुन् । अमेरिकाविरुद्ध अघिल्लो खेलमा ६१ रन बनाएका आसिफले ८६ बलको इनिङ्समा ७ चौका र १ छक्का प्रहार गरे । कुशलले ७५ बल खेल्दै ५ चौका प्रहार गरे । देव खनाल रिभर्स स्विप गर्ने प्रयासमा १२ बल खेली १० रनमा आउट भए । उपकप्तान रोहित पौडेल २० बलमा २२ र विजयी चौका प्रहार गरेका दीपेन्द्र ६ रनमा अविजित रहे ।
यसअघि नेपालको बलिङमा करण र कप्तान सन्दीप लामिछाने छाएका थिए । करणले कश्यप प्रजापति र शोएव खनाललाई समान २ रनमा आउट गरेपछि नेपालले सुरुआत देखि नै ओमानलाई दबाबमा राखेको थियो । सन्दीपले ओपनर जतिन्दर सिंहलाई २३ रनमा बोल्ड गरे भने आयान खानलाई शुन्य र खावर अलीलाई १ रनमा आउट गरेपछि ओमान १७ औं ओभरमा ४९–५ को स्थितिमा पुगेको थियो ।
कान्तिपुर