पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिम

 

काठमाडौँ ३१ जेठ । यसपालि पनि अघिल्ला वर्षभन्दा मनसुन छिटो सुरु भएको छ । प्रदेश १, मधेस र वाग्मती हुँदै एक–दुई दिनअघि मात्रै मनसुन गण्डकी प्रदेश प्रवेश गरेको हो । विभिन्न भागमा वर्षासमेत भइरहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरिसकेको छ । मनसुन पूर्वबाट सक्रिय हुँदै पश्चिमतिर गइरहेकाले बुधबारसम्म धेरै स्थानमा वर्षा हुने महाशाखाको आकलन छ । मनसुन सक्रिय बन्दा हुने वर्षाका कारण पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रमा पहिरोको जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन विज्ञहरूले ध्यानाकर्षण गराएका छन् ।

गत वर्ष मनसुन सुरु भएको पहिलो सातामै मनसुनी वर्षा हिमाली भेगतिर सोझिँदा सिन्धुपाल्चोक ९हेलम्बु० देखि मुस्ताङसम्मै आरीघोप्टे वर्षा भएको थियो । त्यसपछि आएको भेलबाढीले तल्लो तटीय क्षेत्रसम्मै ठूलो क्षति पुगेको थियो । जल तथा मौसम विज्ञान विभागले औसतभन्दा बढी वर्षाको आकलन गरिसकेको छ । तर, मनसुन सुरु भएको ८ दिनपछि मात्र विपद् व्यवस्थापन प्राधिकरणले सोमबार मनसुनपूर्व तयारी र प्रतिकार्य योजना ल्याएको छ । विभागले मनसुन सुरु हुनुअघि नै यस वर्ष बढी वर्षा हुने पूर्वानुमान गरे पनि त्यसबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि समयमै आवश्यक पूर्वतयारी गर्न प्राधिकरणलगायत सरोकारवाला निकाय गम्भीर नबनेको विज्ञहरूको गुनासो छ । ‘पहिरो र भेलबाढीको सम्भावना भएका स्थान र बस्ती पहिचान गरी तिनको व्यवस्थापन बर्खाअघि नै गर्नुपर्ने थियो,’ त्रि–चन्द्र क्याम्पसका इन्जिनियरिङ भूगर्भविद् सुबोध ढकालले भने, ‘मनसुन सक्रिय भएपछि बल्ल विपद् व्यवस्थापन प्राधिकरण तातेको छ ।’

मनसुन सुरु भएको पहिलो सातामै मुग्लिङ–नारायणगढ, पृथ्वी राजमार्गको मुग्लिङ–आँबुखैरेनी खण्डलगायत स्थानमा पहिरो खसेको छ । त्यसबाट मानवीय क्षतिसमेत भएको छ । भूगर्भविद् ढकाल पहिरोका हिसाबले संवेदनशील क्षेत्र पहिचान नगरी सडक विस्तार गरिएका कारण मुग्लिङ–नारायणगढ खण्डमा पटक–पटक समस्या निम्तिएको बताउँछन् ।

‘कुन–कुन स्थानमा चट्टानी पहिरोको सम्भावना छ, त्यसबारे प्राविधिकमार्फत पहिचान गरी न्यूनीकरणका उपाय अवलम्बन गरी सडक विस्तार गरिएको भए यो अवस्था आउने सम्भावना कम थियो,’ उनले भने, ‘कस्तो चट्टान भएको स्थानमा कति भिरालो गरी बाटो चौडा गर्ने भन्नेमा ध्यान दिनुपर्थ्यो, त्यसो हुन सकेन । जथाभावी सडक चौडा गर्नेतिर मात्र ध्यान दिँदा पहिरोले दुःख दिइरहेको छ ।’

मुग्लिङ–नारायणगढ, बुटवल–पाल्पाअन्तर्गतको सिद्धबाबा, पृथ्वी राजमार्गका विभिन्न स्थान, अरनिको राजमार्ग, मेलम्ची क्षेत्र, काठमाडौं–नुवाकोट हुँदै रसुवागढी जोड्ने पासाङल्हामु राजमार्ग, बेंसीसहर चामे ९मनाङ० सडकखण्ड, अत्तरिया हुँदै सुदूरपश्चिमका विभिन्न जिल्ला जोड्ने सडक अहिले पनि पहिरोको जोखिममा छन् । ढकालका अनुसार महाभारत र चुरे क्षेत्रका सडकसमेत पहिरोको उच्च जोखिममा छन् । मनसुनमा महाभारत क्षेत्रमा बढी वर्षा हुन्छ । कर्णाली राजमार्गका विभिन्न स्थान, धनगढी–दार्चुला, डडेलधुरा–बझाङ, गोरुसिंगे–सन्धिखर्क, पाल्पा–गुल्मी सडकखण्ड पनि जोखिममा छन् । प्रदेश १ मा धरान, हिले हुँदै वसन्तपुर जोड्ने सडक, घुर्मी–ओखलढुंगा र खोटाङ तथा इलाम, पाँचथर हुँदै ताप्लेजुङ जोड्ने सडकमा पहिरोको सम्भावना छ । कान्तिपुरबाट

शेयर गरौ

ताजा अपडेट