जाजरकोट, १० फागुन :
मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम र जाजरकोटको सडक निर्माण भए पनि पुल निर्माण नहुँदा दैनिक समस्या हुँदै आएको छ । जाजरकोट खण्डको भाग कालोपत्रे गर्न शुरु गरे पनि पुल निर्माणको काम भने अलपत्र परेको छ । भेरी नदीमा पुल निर्माण नहुँदा मध्यपहाडी लोकमार्ग अधुरो भएको छ ।
भेरी नदीमा तीन वर्षभित्र निर्माणकार्य सम्पन्न गर्ने उद्देश्यले चौरजहारी– दारेगौरा बीचमा पुल निर्माण थालिए पनि ६ वर्ष बितिसको तर पुल निर्माण नहुँदा मध्यपहाडी लोकमार्ग यात्रा गर्ने यात्रुलाई सास्ती हुँदै आएको छ । रुकुम पश्चिमका नेकपाका नेता तथा पूर्व गृहमन्त्री जर्नादन शर्मा र जाजरकोटका नेता तथा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलाई पुल निर्माणका लागि स्थानीयवासीले पटक÷पटक ज्ञापनपत्र बुझाए पनि पुल निर्माणले गति लिनसकेको छैन् ।
वाइपी कन्ट्रक्सन प्रालि ललितपुरले रु १३ करोड ४७ लाखमा पुल निर्माण गर्ने जिम्मा लिएको थियो । ठेक्का सम्झौता भएको ६ वर्ष वितिसक्दा पनि पुलको मुख्य पिलरको जग खन्ने काम पनि पूरा हुन नसक्दा यो पुल कहिले निर्माण हुन्छ भन्ने अझै एकिन नभएको स्थानीयवासी बताउँछन् । प्रालिका निर्माण व्यवसायी राजुप्रसाद श्रेष्ठ सम्पकविहीन हुँदा पुल निर्माणकार्य अलपत्र परेको छ । चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्माले भन्नुभयो, “मैले भन्ने ठाउँमा भनि सकेँ, तर कसैले सुनेन्न, स्थानीयवासी पुल निर्माण नहुँदा आक्रोशित भएका छन् ” ।
पुल निर्माण नहुँदा नयाँ शहरको काममा बाधा
यो पुल निर्माण नहुँदा रुकुमको चोरजहारीमा रहेको अस्पतालमा बिरामी लिनेदेखि नयाँ शहर निर्माणको काममा बाधा पुग्दै आएको छ । वषौँ पुरानो झुलुङ्गे पुलको सहारामा यहाँका स्थानीयवासी काम गदै आएका छन् । पुल निर्माणकै ढिलाइले कुदु र चौरजहारीको व्यापार घाटा बढेको व्यापारी मोहन विष्टले बताउनुभयो ।
पुल निर्माणका विषयमा सडक विभाग र निर्माण व्यवसायीले एकले अर्कालाई आरोप, प्रत्यारोपमै दिन बिताउँदा काम अलपत्र पदैआएको छ । यता निर्माण कम्पनीले सडक विभागको डिजाइनअनुसार कार्यस्थलमा कार्य गर्ने वातावरण नहुँदा पुल निर्माणमा ढिलाई भएको जनाएको छ । पुरानो डिजाइनअनुसार पिलर तथा स्टिलपार्ट भएको पुल निर्माण गर्नुपर्ने थियो ।
पुल निर्माणका लागि कम्पनीलाई ताकेता गरिरहेको र अब केही समयभित्र पुल निर्माणको काम शुरु हुने पुल निर्माण परियोजनाका निर्देशक उद्धव खत्रीले बताउनुभयो । यस सडक खण्डको सडक खन्ने काम पूरा भए पनि ठाउँ ठाउँमा पुलनिर्माणको काम नहुँदा यात्रुले सास्ती भोग्दै आएका छन् । यस खण्डको छेडागाड नगरपालिकाको थलह लगायतका ठाउँमा पुल निर्माणकार्य अझै शुरु हुन सकेको छैन् । (रासस)