विजुलीको तारमा चढेर दिनभर ‘तनाव’ दिएका माइलाको उद्धार

काठमाडौँ । विद्युत् प्रशारण लाइनको टावर हुँदै तारमा पुगेर दिनभर वरपर गरेर  विभिन्न निकायलाई तनाव दिएका व्यक्तिको नेपाली सेनाको टोलीले ११ घण्टापछि उद्धार गरेको छ ।

नुवाकोटको ककनी गाउँपालिका-७ को टावरबाट तारमा पुगेका ककनी गाउँपालिका-७ का प्रेम विक (माइला) को नेपाली सेनाको टोलीले उद्धार गरेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए । ककनी गाउँपालिकामा अध्यक्ष सुमन तामाङका अनुसार माइलालाई ककनी- ७ घाँडेफेदीबाट तल झारिएको हो । ‘भर्खरै मोटरमा हालेर लगिएको छ,’ तामाङले भने ।

उनको उद्धारको लागि तालिमप्राप्त सेनाको टोली हेलिकप्टरसहित खटिएको थियो । उनको मानसिक सन्तुलन ठिक नभएको प्रहरीले जनाएको छ । उनी विहान ११ बजेतिर विजुलीको पोलमा चढेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

खबर लगतै विद्युत प्रशारण लाइन बन्द गरिएको थियो । दिनभर विद्युत प्रशारण लाइन बन्द गरेर विकको उद्धारमा खटिनु पर्दा ७० लाख बराबरको घाटा लागेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । माइलको उद्धारका लागि विभिन्न सुरक्षा निकाय, प्राधिकरणको कर्मचारी टोली, स्थानीय खटेका थिए ।

शेयर गरौ

ताजा अपडेट