जनावरको आक्रमणबाट दुइ वर्षमा ३७ जनाको मृत्यु, बाघले मात्रै १७ जनाको ज्यान लियो

चितवन, २८ जेठ । चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको जनावरको आक्रमणबाट छव्वीस महिनामा ३७ जनाको मृत्यु भएको छ ।
निकुञ्ज कार्यालयका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यो अवधीमा सवैभन्दा धेरै बाघको आक्रमणबाट १७ जनाको मृत्यु भएको छ । बाघपछि गैंडाको आक्रमणबाट ८ र हात्तीको आक्रमणबाट ४ जनाको मृत्यु भएको विवरणमा उल्लेख छ । पछिल्लो तीन महिना यता मात्रै बाघको आक्रमणबाट नौं जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार जेठ महिनामा मात्र चार जनाको मृत्यु भएको हो । वैशाख र चैतको तथ्यांक हेर्दा दुई महिनामा पाँच जनाको बाघको आक्रमणबाट मृत्यु भएको देखिन्छ । करिब तीन महिनामामात्रै चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा बाघ र गैंडाको आक्रमणबाट १० जनाको मृत्यु भएको छ । यो अवधिमा ९ जनाको बाघको आक्रमणबाट र एक जनाको गैंडाको आक्रमणबाट मृत्यु भएको प्रहरीले उपलब्ध गराएको तथ्यांकबाट स्पष्ट हुन्छ ।
मंगलबार अपरान्ह भरतपुर महानगरपालिका–२३ मा पर्ने घैलाघारी सामुदायिक वनमा चार जना निउरो टिप्न गएका थिए । उनीहरूमध्ये घैलाघारी बस्ने ५५ वर्षकी मंगली बोटेको बाघको आक्रमणबाट मृत्यु भयो । त्यसैगरी जेठ ८ गते भरतपुर महानगरपालिका–१३ स्थित वेलसहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न, निउरो खोज्न गएकी फुलकुमारी बोटेको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।
५२ वर्षीया बोटेलाई बाघले आक्रमण गरेर घिसार्दै करिब ७०० मिटर पर पु¥याएको थियो । जेठ १६ गते बाघले राप्ती नगरपालिकाको वडा नम्बर १ मा निकुञ्ज भित्र राप्ती नदीको किनारमा गाई बस्तु चराउन गएकी महिलालाई आक्रमण ग¥यो । ५३ वर्षीया सेतीमाया तामाङ घर नजिकै पर्ने निकुञ्जको क्षेत्रभित्र गाई चराउन जानु भएको थियो । अपरान्ह ४ बजेतिर बाघको आक्रमणमा परेर उहाको घटनास्थलमै मृत्यु भएको थियो ।
जेठ १७ गते नवजागृति सामुदायिक वनमा निउरो र च्याउ खोज्न गएका बसेनी बरमटोलका ५१ वर्षका चाथर कुमालको बाघको आक्रमणबाट मृत्यु भएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्दै जाँदा बाघको आक्रमणबाट मान्छेको मृत्यु हुने क्रम पनि बढेको छ ।
चितवन निकुञ्जको तथ्यांक अनुसार २०७६ सालमा बाघको आक्रमणबाट मान्छेको मृत्यु नभए पनि त्यसपछि बाघको आक्रमण निरन्तर बढ्दै गएको छ । एउटा बाघलाई हिडडुल गर्न झण्डै ४० किलोमिटर क्षेत्रफल आवश्यक पर्छ तर बाघको संख्या बढे पनि निकुञ्जको क्षेत्रफल बढ्न नसक्दा बाघ मानवबस्ती वरपरसम्म पुग्ने गरेको विज्ञहरुको दाबी छ ।
मृत्यु भएको अवस्थालाइ हेर्दा निकुञ्ज सुरक्षामा खटिँदा, घाँस दाउरा गर्न जाँदा, निउरो टिप्न जादा, पूजा गर्न जाँदा, पर्व मनाएर घर फर्कदै गर्दा जङ्गली जनावरको आक्रमणमा परी विभिन्न समयमा मृत्यु भएको देखिन्छ ।
शुक्रबार मात्रै पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं. १ डिपार्ट गाउमा आफ्नै खेतमा तरकारी टिप्न जादा विहान चितवन राष्ट्रिय निकुञ्जबाट आएको बाघले आक्रमण गरी गम्भिर घाइते बनाएको छ । आक्रमणबाट ४३ वर्षीय इन्द्रवहादुर वाइवा घाइते भइ पुरानो मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइराखेको छ । वस्तीमा प्रवेश गरेको बाघलाई निकुञ्जको टोलीले शुक्रबार दिउसो नियन्त्रणमा लिएको छ ।
बाघको सख्या वृद्धि भएको कारण मानिसलाइ आक्रमण गर्न थालेको संरक्षणर्कीले बताएका छन् । आउँदो बाघ दिवस जुलाई २९ मा सख्या सार्वजनिक गरिँदै छ । सन् २०१८ को गणना अनुसार निकुञ्जमा बाघको सख्या ९३ रहेको थियो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य सख्या बढेका कारण मध्यवर्ती क्षेत्रमा बाघले बासस्थान बनाएकाले घटना बढेको बताउनुहुन्छ । मानिसहरुले अपनाउनुपर्ने सावधानी कम अपनाउँदा घटना बढ्दै गएको आचार्यको भनाइ छ ।
बाघ निश्चित क्षेत्रलाई आफ्नो बासस्थान बनाएर बस्ने प्राणी हो । सख्या बढ्दै गएर निकुञ्जभित्र बासस्थान नपुगेपछि बाघले मध्यवर्ती सामुदायिक वनहरुमा आफ्नो बासस्थान बनाउँदै गएको उहाँ बताउनुहुन्छ । बाघका सम्बन्धमा विद्यावारिधि गर्नुभएका राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछाने बाघले बुढो भएर, घाइते भएर, हेपिएर आहारा नपाउँदा, मानिसलाई आक्रमण गर्ने बताउनुहुन्छ ।

शेयर गरौ

ताजा अपडेट