चितवन, २८ जेठ । क्यान्सर रोगको पहिचान र उपचार कसरी गर्ने गरिएको छ भन्ने विषयमा अनुसन्धान सुरु भएको छ ।
स्थानीय तहका स्वास्थ्य सस्था, विरामीदेखि विषेशज्ञ अस्पतालका चिकित्सकले रोग भए नभएको कसरी पत्ता लगाउने गरिएको छ भन्ने विषयमा अनुसन्धान सुरु भएको हो । विपी कोइराला मोमोरियल क्यान्सर अस्पताल भरतपुर र डब्लुएचओ अन्तर्गत आइएआरसी सस्थाको संयुक्त प्रयासमा अनुसन्धान सुरु भएको हो ।
थाहै नपाइ अन्तिम अवस्थामा क्यान्सर रोग पत्ता लाग्ने गरेको, रोग लागि सकेपछि पनि थाहा नपाएर उपचार नगरेको, उपचार गर्दा गर्दै निको नभएको, कसरी रोग पहिचान गर्ने गरिएको छ, विरामीले पाइरहेको उपचार प्रतिको धारणा सहित विभिन्न सात प्रकारका क्यान्सर रोगको उपचार कसरी भइराखेको छ भन्नेलगायतका विषयमा अनुसन्धान गर्नेछन् । धेरै क्यान्सर रोग मध्य पछिल्लो समय विभिन्न सात प्रकारका क्यान्सर रोग वृद्धि भएकाले यसैसंग केन्द्रीत रहेर अनुसन्धान सुरु भएको क्यान्सर अस्पताल भरतपुरका प्रिभन्सिभ शाखाका डाक्टर अश्मिता राणाले जानकारी दिनुभयो ।
अनुसन्धानमा स्तन क्यान्सर, फोक्सोमा हुने क्यान्सर, पेट, मुखमा लाग्ने क्यान्सर, बालबालिकालाई लाग्ने सवै प्रकारका क्यान्सर, पाठेघरमा लाग्ने, ठुलो आन्द्रामा लाग्ने क्यान्सरको विषयमा अनुसन्धानकर्ताले प्रत्यक्ष भेटेर सोध्ने छन् । डाक्टर राणाले भन्नुभयो ‘प्राथमिक स्वास्थ्य चौकी, स्वास्थ्य सस्थाहरुमा पुगेरै प्रश्नहरु सोधिनेछन्, प्रत्यक्ष भेटेर गरिने अनुसन्धानबाट थप तथ्य फेला पार्ने विश्वास लिएका छौ ।’ राणाले भन्नुभयो ‘जुन १ तारिकबाट सुरु भएको यो अनुसन्धान एक वर्षसम्म सञ्चालन हुनेछ त्यसपछि आएको परिणामलाई अध्ययन गरेर रिपोर्ट तयार पार्नेछौ ।’
उपचारबाट विरामीले पाएको सन्तुष्टी वा गुनासो र रोग पत्ता लागेको चरणका विषय अध्ययन गरिने छ । ती बाहेक ती सातप्रकारका रोगको पछिल्लो अवस्थाको विषयमा समेत नयाँ तथ्यहरु पत्ता लाग्ने विश्वास लिएको उहाले जानकारी दिनुभयो ।
क्यान्सर अस्पताल भरतपुरले तयार पारेको रिपोर्ट अनुसार सन् २०२० फोक्सोको क्यान्सरका विरामीको सख्या ५५४ रहेको छ । एक वर्षमा नयाँ देखिएको विरामीको सख्या हो । त्यस्तै गरी दोस्रोमा पाठेघरको क्यान्सरका विरामी रहेका छन् । एक वर्षमा ४९५ जना विरामी भेटिएका छन् । तेस्रो ठुलो विरामीको सख्या स्तन क्यान्सर रहेको छ । एक वर्षमा ४३८ जनालाई स्तन क्यान्सर भएको देखिएको छ । स्तन क्यान्सर हुने पुरुषको सख्या २८ रहेको छ । पछिल्लो समय पुरुषलाई पनि स्तन क्यान्सर देखिन थालेको डाक्टर राणाले जानकारी दिनुभयो । पेट २३५, मुत्रथैली २१३, गर्भास्थानमा हुने २१३, जिव्रोमा हुने १६३, मलद्वारमा हुने १६२, हड्डी र जोर्नीमा क्यान्सर हुने १३८ विरामी रहेका छन् । अस्पतालले सन् २०२१ एक वर्षभरी देखिएका नयाँ क्यान्सरका विरामीको सख्या आउदो असोजमा सार्वजनिक गर्दैछ ।


