चितवन २८ जेठ । पहिरोको कारण शुक्रबार राति ९ बजेबाट अवरुद्ध नारायणघाट मुग्लिन सडक खण्ड विहानबाट सामान्य रुपमा सञ्चालनमा आएको छ ।
गए राति टोपेखोला नजिकै पहिरो खस्दा अवरुद्ध भएको सडक रातिदेखिनै पन्छाउने काम भएपछि विहानबाट सामान्य रुपमा सञ्चालनमा ल्याइएको हो । अहिले पहिरो पन्छाएर बिस्तारै गाडी सञ्चालन गर्न थालिएको मुग्लिन प्रहरीले जनाएको छ । पहिरो पन्छाउँदै गाडी खुलाउँदै गरिए पनि पानी परिरहेकाले सडक पूर्णरूपमा खुल्न सकेको छैन ।
अहिले गाडी जेनतेज चले पनि जाम रहेको मुग्लिन प्रहरीले जनाएको छ । हिजो शुक्रबार बिहान पनि त्यही ठाउँमा पहिरो खस्दा घण्टौंसम्म गाडी जाम भएको थियो । दिउँसो पहिरो पन्छाएर गाडी चल्न थाले पनि फेरि पहिरो खस्दा यात्रुले सास्ती पाएका छन् ।
पानी पर्ने बित्तिकै ठाउँ ठाउँमा पहिरो खस्ने गर्दा मुग्लिन नारायणघाट सडक खण्डको यात्रा कष्टकर हुन थालेको छ । यो सडक राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो ।
यस्तै मुग्लिन नजिकै पर्ने पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी(मुग्लिन खण्डमा साना गाडी मात्र सञ्चालन चलिरहेका छन् । आँबुखैरेनी नजिकै मर्स्याङ्दी विद्युत् गृह नजिकै हिजो बिहान सडक भासिएपछि बन्द भएको सडक खण्ड मर्मतका लागि अर्को सूचना नआएसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि बन्द गर्न थालिएको छ ।
हिजो बेलुकी ७ बजेदेखि बन्द गरिएको सडक बिहान ५ बजे खुले पनि साना गाडी मात्रै सञ्चालन हुन सक्ने आँबुखैरेनी प्रहरीले जनाएको छ । सडक मर्मत गर्न समय लाग्ने भएकाले ठूला गाडीलाई वैकल्पिक बाटोबाट सञ्चालन गर्न प्रहरीले आग्रह गरेको छ । हिजो बिहान सडक भासिएर कार खस्दा दुई जनाको ज्यान गएको थियो ।
गोरखाको पालुङटारमा दुई मोटरेबल पुल बगायो
अविरल वर्षापछि आएको बाढीले गोरखाको पालुङटारमा दुईवटा मोटरेबल पुल बगाएको छ । शेरबजार र सिस्नेरीबीच चुतिखोलामा रहेको निर्माणाधीन पुल बाढीले बगाएको पानपा(९ का वडाध्यक्ष भेषराज पाण्डेले जानकारी दिए । पालुङटार नगरपालिका(९ स्थित विर्दीको चुतीखोलामा रहेको मोटरेबलपुल पनि बाढीले बगाएको छ ।
अबुवा(शेर सडकखण्डअन्तर्गत रहेको विर्दीको चुर्तीखोलामा माथिको पुल बगाएपछि आवतजावत ठप्प बनेको अध्यक्ष पाण्डेले जानकारी दिए । लगातारको वर्षापछि केही स्थानमा विजुलीका पोल ढलेको र बाढीका कारण करिब ३ हजार रोपनी क्षेत्रफलमा लगाइएको खेतीबाली नष्ट भएको पनि उनले जानकारी दिए ।
पालुङटार नगरपालिका ६ केरउनीका केशरबहादुर थापाको घर पहिरोले बगाएको छ । पहिरोले थापाको जस्ताले छाएको ढुङ्गा र सिमेन्टले बनेको २ कोठे घर बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए । घर बगेपछि थापा परिवार बारीमा पाल टाँगेर बसिरहेको छ ।