केशव पौडेल
चितवन, २७ जेठ । पहिरोको कारण अवरुद्ध भएको मुग्लिन नौविसे सडकखण्ड एकतर्फी रुपमा सञ्चालन भएपनि सवारी साधनको चापले गर्दा सामान्य अवस्थामा आउन सकेको छैन ।
वुधबार राति आएको पहिरोका कारण विहीबार रातिसम्म अवरुद्ध भएको सडक शुक्रबार दिउसोबाट एकतर्फी सञ्चालनमा ल्याएको थियो । पहिरो पन्छाएर खुलाइएपनि सामान्य अवस्थामा आउन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख धर्मवहादुर अधिकारीले जानकारी दिनुभयो ।
ठुलो पहिरोले सडकमा पारेको असर र सवारी चापले गर्दा काम गर्न कठिनाइ भएको उहाले बताउनुभयो । तीनदिन देखि जाम भएको सवारी साधनलाई व्यवस्थित पारेर गन्तव्यमा लैजान कठिन भइराखेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अधिकारीले बताउनुभयो । साधुरो बाटोमा सवारी साधनको चापको कारणले सुस्त गतीमा यातायात सञ्चालनमा आएको कार्यालयले जनाएको छ ।
मुग्लिन पोखरा खण्डको आवुखैरहनी नजिक साँखरम ड्याममा सडक भासिएपछि अहिले यात्रुहरु पैदल हिड्न बाध्य भएका छन् । सडक भासिएपछि सवारी साधन सञ्चालन गर्न कठिन भएपछि सडकको भित्ता तर्फबाट यात्रुलाई पैदल वारपार गर्न लगाइएको प्रहरीले जानकारी दिएको छ । यातायात सञ्चालनको लागि पहाड तर्फ खनेर बाटो निर्माणको कार्य भइराखेको मुग्लिन प्रहरीले जानकारी दिएको छ ।