चितवन, २६ जेठ । नौबिसे– मुग्लिन र नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोका कारण वुधबार रातिदेखिको अवरुद्ध विहीबार साँझसम्म सञ्चालनमा आउन सकेको छैन ।
नौबिसे– मुग्लिन सडकखण्डको घोप्टेभीर नजिक गएको ठुलो पहिरो पन्छाउन समस्या भएको कारण सञ्चालनमा ल्याउन कठिन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख धर्मवहादुर अधिकारीले जानकारी दिनुभयो । राति ११ बजेबाट अवरुद्ध सडक दिउसो १ बजेबाट एकतर्फ सञ्चालनमा ल्याएपनि पुन पहिरो खसेपछि साँझ ६ बजेसम्म खुलाउन नसकेको उहाले जानकारी दिनुभयो ।
उहाले भन्नुभयो ‘दिउसो पनि पानी परेर ठुलो पहिरो खसेपछि पन्छाउन कठिन भएको हो, दुइवटा डोजरले पहिरो पन्छाउने काम भइराखेको छ तर सहिएको छैन । ’ रातिदेखि रोकिएको गाडीको कारणपनि पहिरो पन्छाएर छिटो बाटो खुलाउन समस्या परेको छ उहाले भन्नुभयो जथाभावी गाडी रोकिदिने र धेरै सवारी साधन भएको कारण पहिरो पन्छाएको कम्तीमा दुइ घण्टापछि मात्र सामान्य अवस्थामा आउन सक्नेछ अधिकारीले भन्नुभयो । हामीले छिटो पहिरो पन्छाउने प्रयास गरेका छौ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ–मुग्लिन सडक खण्डको कालिखोलामा आएको पहिरो पन्छाएर हटाएपनि सो खण्डमा यातायात सञ्चालन गर्न कठिन भएको छ । मुग्लिनमा गाडीको जाम भएको कारण घोप्टेभीरको पहिरो पन्छाएर दोहोरो सवारी साधान सञ्चालन नभएसम्म मुग्लिन नारायणगढ सडक खण्ड सञ्चालन नहुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अधिकारीले बताउनुभयो ।
पानी नपरेमा राम्रोसंग काम भए राति अवेरसम्ममा पहिरो पन्छाएर बाटो दुवै तर्फ सञ्चालनमा ल्याउने उहाले जानकारी दिनुभयो । पहिरोका कारण बाटो अवरुद्ध भएपछि नारायणगढसम्म साधनको जाम लागेको छ । मुग्लिनको बाटो नखुलेपछि पूर्व र पश्चिमबाट काठमाण्डो पोखरा जान आएका सवारी साधन नारायणगढ, रामनगरमा रोकिएका छन् । राजमार्ग रोएिपछि यात्रुहरु अलपत्रमा परेका छन् । खाध्यान्न, शौचालय, पानीको समस्या परेको छ ।