काठमाण्डौंको फोहोर मंगलबारबाट उठ्ने

काठमाण्डौं २३ जेठ । थानीयका माग सम्बोधन गर्ने सहमती भएपछि दस दिनदेखि थुप्रिएको काठमाण्डौंको फोहोर मंगलबारबाट उठ्ने भएको छ ।
सहरी विकास मन्त्रालयमा सोमबार अबेरसम्म भएको वार्तामा सिसडोल र बञ्चरेडाँडाका स्थानीयको मागलाई सम्वोधन गर्ने सहमतीपछि फोहोर उठ्ने भएको हो । थुप्रिएको फोहोर मंगलबार बिहानबाट बञ्चरेडाँडा डम्पिङ साइटमा लैजाने तयारी छ ।
सिसडोल र बञ्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागितामा भएको वार्तामा मागका विषयमा समय तालिकासहित प्रतिबद्धतापत्र जारी गरिएको छ । हरेक दिन बञ्चरे डम्पिङ साइटमा फोहोर खसालेपछि १५ सेन्टिमेटर उचाइको माटोले पुर्ने सहमति भएको आयोजना निर्देशक रवीन्द्र बोहोराले जानकारी दिनुभयो । यसरी माटोले पुरेपछि दुर्गन्ध नफैलिने उहाले बताउनुभयो ।
विगतमा जसरी फोहोर लगिन्थ्यो, त्यसरी नै लगिनेछ तर साउन १ देखि भने नकुहिने खालका फोहोर मात्र डम्पिङ साइटमा लैजाने सहमति भएको छ,’ बोहोराले जानकारी दिनुभयो । काठमाडौं महानगरपालिकाले हरेक घरमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै राख्न मंगलबारबाट सूचना जारी गर्नेछ । असार मसान्तसम्म प्रचारप्रसार अभियान चलाएपछि साउन १ बाट महानगरले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै गाडी पठाएर संकलन गर्नेछ । साउन १ पछि कुनै घरले कुहिने र नकुहिने फोहोर मिसाएर फाल्न ल्यायो भने उसलाई कारबाही गरिने प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।
सत्र वर्षदेखि लगातार काठमाडौंको फोहोर थुपारिँदै आएको सिसडोल बन्द गरी हरित क्षेत्रमा परिणत गर्ने पनि सहमति भएको छ । त्यस्तै, बञ्चरेडाँडा डम्पिङ साइटले असर गर्ने प्रभावित क्षेत्र निर्धारण गरेर अधिग्रहण प्रक्रिया थालनी गर्ने पनि प्रतिबद्धतापत्रमा छ ।

यसको निम्ति काठमाडौं महानगरपालिकाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधार ६ महिनाभित्र प्रभावित क्षेत्रको जग्गा अधिग्रहण प्रक्रिया सुरू गरिने बोहोराले जानकारी दिए। अधिग्रहण र मुआब्जाका लागि बजेट विनियोजन गर्न पहल गरिनेछ ।

 

शेयर गरौ

ताजा अपडेट