काठमाण्डौं २३ जेठ । शनिबार जस्तै आइतबार सार्वजनिक विदा दिदै आएको सरकारले निर्णय फिर्ता लिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आइतवार पनि दिने गरिएको बिदा खारेज गर्ने निर्णय लिएको हो।
एकजना मन्त्रीका अनुसार असार १ गतेबाट लागु हुने गरी आइतबारको सार्वजनिक बिदा हटाउने निर्णय क्याबिनेटबाट भएको हो।
यसअघि पेट्रोलियम पदार्थमा रहेको अर्बौं घाटा कम गर्ने भन्दै सरकारले गत जेठ १ गतेदेखि लागु हुने आइतवार पनि सार्वजनिक बिदाको निर्णय लिएको थियो।
तर सरकारको उक्त निर्णय चौतर्फी विरोध र अवज्ञा सुरु भएको थियो। देशका कयौँ स्थानीय तहले आइतवार बिदा दिने निर्णय अवज्ञा गर्दै विद्यालय लगाउन थालेका थिए।
हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्ध सोमबार मात्रै सर्वोच्च अदालतमा दुई वटा रिट निवेदन दर्ता भएका थिए।
अधिवक्ताहरू रामबहादुर शाही, सन्तोष भण्डारी, तेजकुमार लोहनी र त्रिलोकबहादुर चन्दले सोमबार सर्वोच्चमा रिट दर्ता गरेका थिए।
सरकारले हचुवाको भरमा दुई दिन बिदाको घोषणा गरेको भन्दै यसलाई रोक लगाउन रिटमा माग गरिएको थियो।