इच्छाकामनाको सार्वजनिक सुनुवाइ : जनचाहना अनुसार विकासका काम हुनु पर्नेमा सेवाग्राहीको जोड

 

चितवन, २२ जेठ । इच्छाकामना गाउपालिकाले सर्वसाधारणको लागि सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।

चितवनको इच्छाकामना गाउँपालिकाले आर्थिक बर्ष २०७४।७५ देखि आर्थिक बर्ष २०७८।७९ सम्मको बार्षिक प्रगति समिक्षा तथा आर्थिक बर्ष २०७८।७९ को प्रवाह गरिएको सेवा सम्बन्धमा जनतालाई जानकारी गराउने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।

कार्यक्रममा गाउपालिकाले आगामी दिनमा सुधार गर्नु पर्ने कामको विषयमा ध्यानाकर्षण गरेका थिए । सेवाग्राहीको सल्लाह र सुझावको आधारमा कार्यपालिका सञ्चालन हुनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा सेवाग्राहीले अस्पताल निर्माण अलपत्र परेको, फोहोर व्यवस्थापन र सडकमा नाली नहुदाँ बजार फोहोर भई दुर्गन्ध फैलिएको, कृषकहरुको उत्पादनले बजार नपाएको,अपेक्षा भन्दा ज्यादै न्युन मात्रामा आन्तरिक श्रोतबाट आम्दानी हुदाँ योजनाहरु अलपत्र परेको बताएका थिए ।
कर्मचारीहरुले काममा ढिला सुस्ती गर्दा सेवाग्राहीले सास्ती खेप्न परेको समेत बताएका थिए । साथै सुकुम्बासीका लागि लाल पुर्जा र भुकम्पका कारण अलपत्र परेर अन्यन्त्र आश्रय लिएकाहरको स्थायी बसोबासका लागि अझै टुंगो नलगाएको बारे जिज्ञासा राखेका थिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, निवर्तमान अध्यक्ष गीता कुमारी गुरुङ, प्रमुख प्रशासकिय अधिकृत सालिकराम बस्याल, विषयगत शाखाका प्रमुख, सुरक्षा प्रमुख लगायतले सहभागीहरुबाट आएको प्रश्नको जवाफ दिएका थिए ।

राजनीति दलका प्रतिनिधिहरुले नवर्निाचित जनप्रतिनिधिहरुलाई रचनात्मक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा नेकपा एमाले इच्छाकामनाका अध्यक्ष कृष्ण सिलवाल, कांग्रेसका नेता विष्णु कुँवर,नेकपा माओवादी केन्द्रका इन्चार्ज प्रताप गुरुङले पनि मन्तव्य राखेका थिए ।

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले इच्छाकामनाको विकास र समृद्धिका लागि सबै पक्षसंग सल्लाह सुझाव लिएर सबैसंग सहकार्य गरेर आफु अघि बढ्ने बताउनुभयो ।

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।गाउँपालिका उपाध्यक्ष माया सिलवालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

 

शेयर गरौ

ताजा अपडेट