केशव पौडेल
चितवन, २२ जेठ । स्थानीय तहको निर्वाचनबाट चितवनसहित तीन जिल्लामा १२ जना चेपाङहरु वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
चेपाङकै मुख्य वासोवास रहेको क्षेत्रमा नै उनीहरुको प्रतिनिधि सिमित निर्वाचित भएका हुन् । चेपाङको वसोवास रहेको जिल्लामा चितवन, मकवानपुर, धादिङ र गोरखा जिल्ला हो । गोरखा जिल्लामा भने चेपाङले निर्वाचनमा उमेदवारी दिन पाएनन् ।
‘हाम्रो बाक्लो वासोवास रहेपनि गोरखामा कुनैपनि दलले उमेदवारी उठाउन अवसर दिएनन् ’ संविधान सभा सदस्य तथा नेपाल चेपाङ संघका पूर्व केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले बताउनुभयो । चितवन, मकवानपुर, धादिङमा गरी एकलाख भन्दा धेरै जनसख्या चेपाङको रहेको छ । पिछडिएको समुदायलाई राज्यको मुल प्रभावहमा ल्याउनको लागि दलहरुले त्यती ध्यान नदिएको उहाँको भनाइ छ ।
जिल्ला निर्वाचन कार्यालय चितवनको विवरणमा ६ जना चेपाङ जिल्लामा वडा अध्यक्ष पदमा निर्वाचित भएका छन् । ती समुदायको बाक्लो वसोवास रहेको इच्छाकामना गाउपालिकाको वडा नं. २ मा पञ्चवहादुर चेपाङ, वडा नं. ६ मा लक्ष्मण चेपाङ, कालिका नगरपालिकाको वडा नं. १० मा नरजंग प्रजा, वडा नं. ११ मा कृष्णवहादुर प्रजा, राप्ती नगरपालिकाको वडा नं. १२ मा अर्जुन प्रजा र वडा नं. १३ अशोककुमार प्रजा निर्वाचित भएका छन् । पहाडी क्षेत्रका यस पालिकामा चेपाङ समुदायको जनसख्या ३२ हजार रहेको तथ्याँक कार्यालयले जनाएको छ ।
मकवानपुर जिल्लामा भने चार जना मात्र चेपाङ समुदायका जनप्रतिनिधि निर्वाचित भएका छन् । जिल्लाको कैलाश गाउपालिकाको वडा नं. ५ मा आषिश प्रजा, राक्सिराङ गाउपालिकाको वडा नं. ५ मा हरिवहादुर प्रजा, वडा नं. ७ मा रामवहदाुर प्रजा, वडा नं. ८ मा युसाइ प्रजा निर्वाचित भएका छन् । जिल्लामा १० पालिका रहेको छ ।
चेपाङको मुख्य वासोवास रहेको धादिङ जिल्लामा भने दुइ जना मात्र वडा अध्यक्षमा निर्वाचित भएका छन् । जिल्लाको गजुरी गाउपालिका वडा नं. ४ मा सुरेन्द्र र वेनीघाट रोराङ गाउपालिका वडा नं. १० मा विकास प्रजा निर्वाचित हुनु भएको छ ।
अवसर पाए राम्रो काम गरेर देखाउन हामी सक्षम छौ चितवनको इच्छाकामना गाउपालिका वडा नं. २ का अध्यक्ष पञ्चवहादुर चेपाङले बताउनुभयो । ‘हाम्रो भोट चल्छ हामी पार्टीलाई चाहिन्छ तर नेतृत्व दिन मान्दैनन्’ उहाले भन्नुभयो ‘ अव वडा अध्यक्ष मात्र होइन पालिका प्रमुखको टिकट दिनु पर्दछ ।’ हाम्रो क्षेत्रमा हाम्रै समुदायको नेतृत्व चाहिन्छ उहाले भन्नुभयो ।


