भरतपुर अस्पताललाई विरामीको चाप धान्न कठिन

 

चितवन, २२ जेठ । स्वास्थ्य विमाको कार्यक्रमलाई स्थानीय पालिकाले प्राथमिकतामा राखेर विमित गराउदा त्यसको असर भरतपुर अस्पतालमा परेको छ ।
नव निर्वाचित पालिका प्रमुख र विगतका पालिका प्रमुखहरुले आफ्नो कार्य क्षेत्रमा रहेका सेवाग्राहीलाई विमित कार्यक्रम प्राथमिकतामा राखेका थिए । चितवन बाहिर पनि यो कार्यक्रम जोडतोडका साथ जनप्रतिनिधिले राखेको छ । विमा गरेकाहरु उपचारको लागि भरतपुर अस्पतालमा आउने गर्दछन् ।
भरतपुर अस्पतालमा भने क्षमता वृद्धि नगर्दा विमितहरुको चापलाई धान्न नसकिने अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेल अहिलेकै जनशक्ति स्रोत साधनबाट हामीले सेवा दिन सक्ने अवस्था नरहेको बताउनुहुन्छ । ‘विमा गर्नेहरुको सख्या हरेक वर्ष वृद्धि हुने तर अस्पतालको क्षमता वृद्धि गर्न स्थानीय सरकारले ध्यान नदिने गर्दा समस्या आउने छ ’उहाले भन्नुभयो ।
अस्पतालमा सरकारले १५० शैयाको लागि १७५ जना दरवन्दी दिएको छ । यो जनशक्तिले नपुगेर अस्पताल विकास समितिले स्रोत साधनले धान्ने गरी थप ४५० वृद्धि गरेर ६०० शैया पु¥याएको छ । थपेको शैयाको लागि अस्पताल विकास समितिले आफ्नै खर्चमा अहिले व्यवस्थापन गर्दै आएको छ । यो केन्द्रीय अस्पताल हो तर सेवा सुविधा र यहाँको जनशक्ति भने पुरानै रहेको छ । ‘अस्पताल केन्द्रीय भयो तर यसलाई हेर्ने दृष्टिकोण केन्द्रीय भएको छैन ’ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पौडेलले भन्नुभयो ।
‘विमाको कार्यक्रम राम्रो हो तर यही शैलीबाट अगाडि बढेमा हामीले धान्न सक्दैनौ । जिल्लाका पालिकामा अस्पताल छन् तर सामान्य उपचार हुन्छ जटिल प्रकारका रोग, थप उपचार गराउन पर्दा भरतपुर अस्पताल रोज्ने गरेकाले हामीलाई सेवा दिन जटिल बन्दै गएको छ ’ उहाले भन्नुभयो । चितवनसहित मकवानपुर, नवलपरासी, गोरखा, धादिङ, रुपन्देही, रौतहट, वारा, पर्सा लगायतका जिल्लाबाट उपचार गराउन भरतपुर आउने गरेका छन् । यी सबै जिल्लाको विरामीलाई उपचार सेवा दिदा अहिले भैराखेको स्रोत साधनले काम गर्न नसकिने अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारीले बताउनुभयो ।
अस्पतालका अनुसार यहा दैनिक ओपीडीमा १५ सय देखि माथिले टिकट काट्ने गरेका छन् । विहान ७ बजेदेखि १२ः३० बजेसम्म टिकट काउण्टर खुला गरिएको छ । पाँच वटा काउण्टरबाट टिकट काट्ने व्यवस्था हुदा समेत एक दिनमा उपचार गराएर जान सकिने अवस्था नभएको सेवाग्राहीले बताएका छन् ।
पालिकाहरुले विपन्न गरिवलाई विमा निःशुल्क कार्यक्रम ल्याएको छ । यो संगै वृद्ध असहाय, दलित, निश्चित वर्ग लगायतलाई विमा गर्दै आएको छ । विमा कार्यक्रमलाई पकालिकाले प्राथमिकता दिदा ती विरामी उपचारको लागि भरतपुर अस्पताल आउने गर्दछन् । कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले गरिब विपन्नलाई पालिकाले निःशुल्क विमा गरिदिने योजना बनाएका छौ । पालिकामा नै अस्पताल भएकाले सामान्य विरामीको लागि भरतपुर जानु पर्ने वाध्यता नभएको बताउनुभयो ।

 

शेयर गरौ

ताजा अपडेट