मनसुन सुरु हुन लाग्यो सरकारको पुर्व तयारी योजना छैन

काठमाडौ २२ जेठ । आगामी साताभित्र मनसुन भित्रिने प्रक्षेपण गरिएको छ । पूर्वी नेपालबाट मनसुन भित्रिएसँगै बर्खायाम सुरु हुन्छ । एक सय १२ दिन नेपाली आकाशमा रहने मनसुनकै भरमा धानखेती हुन्छ भने यही याममा बाढीपहिरोले क्षति निम्त्याउने गर्छ । जल तथा मौसम विज्ञान विभागले यस वर्ष औसतभन्दा धेरै वर्षा हुने प्रक्षेपण गरिसकेको छ । संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधिको कार्यालय नेपालले भने आगामी बर्खामा बाढीपहिरोबाट कम्तीमा १७ लाख जनसंख्या प्रभावित हुने आकलन गरेको छ । तर, बर्खा सुरु हुनै लाग्दा सरकारले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना’ नै स्वीकृत गरेको छैन ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराई भने कार्ययोजना तयारी अवस्थामा रहेको र आगामी साताभित्र प्राधिकरण कार्यकारी समितिबाट स्वीकृत हुने दाबी गर्छन् । कार्यकारी समिति गृहमन्त्रीको अध्यक्षतामा रहन्छ । कार्ययोजनाले बाढीपहिरोबाट हुने सम्भावित क्षति न्यूनीकरण, पूर्वतयारी, घटना भए उद्धार र खोजमा परिचालन हुने निकायको जिम्मेवारी तोक्ने गर्छ ।

शेयर गरौ

ताजा अपडेट