काठमाडौं २० जेठ ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई आफ्नै नेताहरूबाट बचाउने भन्ने चुनौती नेकपा (एमाले) भित्र थपिएको बताएका छन् । आफ्नै पार्टीभित्र एउटाले अर्कालाई हराउन खोज्दा दुबैले हार्ने स्थिति बनेको अध्यक्ष ओलीको भनाई छ ।
पार्टीको जनसंगठन समन्वय संयन्त्रको बैठकलाई बिहीबार सम्बोधनका गर्दै अध्यक्ष ओलीले विभिन्न ठाउँमा पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ताकै अन्तर्घातका कारण प्रमुख र वडाध्यक्ष हार्ने अरु पद जित्ने जस्तो अवस्था पनि देखिएको बताएका हुन् ।
ओलीको भनाइ उदृत गर्दै उपप्रमुख रिजालले भने, ‘जनताले नेकपा (एमाले) लाई माया गरेका छन् र लोकप्रिय पहिलो मत दिएका छन् । हामी जनताप्रति आभारी छौं । तर, समस्या हामीभित्रै देखिएको छ । आफ्नै पार्टीभित्र एउटाले अर्कालाई हराउन खोज्दा दुबैले हार्ने स्थिति बन्यो । नेताहरूबीच मेल भएन, टीम स्पिरिट भएन । यथार्थमा पार्टीलाई आफ्नै नेताहरूबाट कसरी बचाउने भन्ने चुनौती थपिएको छ ।’
पार्टीको जनसंगठन समन्वय संयन्त्रको बैठकलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताले एमालेलाई माया गरेर लोकप्रिय पहिलो मत दिएपनि समस्या एमालेभित्रै देखिएको बताएका हुन् ।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार अन्तर्घातको विवरण देशभरबाट आफूले लिइरहेको ओलीले बताएका थिए ।
अध्यक्ष ओलीले दोस्रो कारणका रुपमा नेताहरुलाई सही जिम्मेवारी दिन नसक्नु पनि समस्या भएको बताए । ‘कतिपय ठाउँमा हामीले नेता कार्यकर्तालाई राम्रोसँग जिम्मेवारी दिन सकेनौँ । त्यसले गर्दा पनि कतिपय ठाउँमा हामीलाई क्षति भएको छ,’ ओलीले भने ।