चितवन १९ जेठ । वुधबार साँझ पूर्वी चितवनको खैरहनीमा भारतीय नम्बर प्लेटको कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुने व्यक्ति चितवन कालिका नगरपालिका-४ घर भइ हाल खैरहनी -८ मा बस्दै आएका २१ वर्षीय विश्वास गुरूङ रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गको खैरहनी नगरपालिका ९ सिमलटाँडीमा उक्त दुर्घटना भएको थियो ।
हिजो साँझ सवा आठ बजे पूर्वबाट पश्चिम नारायणगढतर्फ आउँदै गरेको जेएच ०१ डीएक्स ७७४९ नम्बरको भारतीय कारले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ०३ -००५ प २६६० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको चितवन जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।
ठक्करका कारणले मोटरसाइकल चालक गुरूङ गम्भीर घाइते भएका थिए । पुरानो मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचारका क्रममा हिजो राति सवा नौ बजे गुरूङको मृत्यु भएको डिएसपी अधिकारीले बताए ।
घटनापछि राजमार्गमा भेला भएका ७०।८० जना स्थानीयले केहीबेर बाटो रोक्नुका साथै कार तोडफोड गरेको प्रहरीले जनाएको छ । प्रहरीले हिजो राति सवा नौ बजेपछि नै बाटो खुलाएको थियो । कारका चालक भारत बिहार राज्य पश्चिम चम्पारण जगदिशपुर-४ बस्ने ३५ वर्षीया आलोककुमारलाई इलाका प्रहरी खैरहनीले नियन्त्रणमा लिएको डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।