काठमाण्डौं १८ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेपछि सर्व साधारणले टिप्पणी गर्न थालेपछि प्रष्टीकरण दिएका छन्।
उनले बुधबार सामाजिक सञ्जालमार्फत् भने भेटघाटलाई अन्यथा नलिइदिन समेत उनुरोध गर्दछु । महानगरको उन्नती प्रगतीको लागि सवै पक्षसंग भेटघाट र सहयोग आदानप्रदान गर्नु पर्दछ त्यसैले भेटघाट सवैसंग गरेको छु उहले लेखेका छन् ।
‘हामी सुझाव समेट्न र सहकार्यका लागि पहल गर्न धेरैभन्दा धेरै व्यक्तित्वसँग भेटघाट गर्ने गरेका छौं,’ उनले भनेका छन्, ‘यो सिलसिला उम्मेदवारी घोषणा गर्नुभन्दा पहिलेदेखि सुरू भएर निकै पछिसम्म पनि रहिरहने छ। समय अनुकूलताका कारण कसैसँग अघि वा पछि भेट हुन सक्छ। यसलाई अन्यथा नबुझिदिन अपिल गर्दछौं।’
बुधबार शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए।
मेयर घोषणा हुनुअघि उनले बालकोट पुगेर पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए। त्यसैगरी उनले नेपाली सेनाका सेनापति प्रभुराम शर्मालाई जंगीअड्डा पुगेर भेटेका थिए।
उनले आममान्छेको जीवनमा सकारात्मक परिवर्तन ल्याउन विशेष र बृहत् सोचको आवश्यकता भएको हुँदा सबैसँग सहकार्य गर्न अनिवार्य भएको बताए।
‘राजनीतिक रूपमा हामीलाई यो अभियानमा केही सजिलो पनि छ। किनकि स्वतन्त्र हुनुको अर्थ केबल चुनावमा उम्मेदवारी दिँदा मात्रै रहँदैन,’ उनले लेखेका छन्, ‘स्वतन्त्र हुनुको अर्थ कुनै पनि पार्टी वा समूह वा नेताप्रति निरपेक्ष रहनु पनि हुन्छ। सबैसँग सम्मानजनक निकटताको अभ्यास गर्नुमा पनि हुन्छ।’
यसैक्रममा प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री ओलीसँग भेटघाट गरेको र भेटघाटपछि उनीहरूको प्रेरणाले आफूहरू थप ऊर्जावान बनाएको उनले बताए।
बुधबार प्रधानमन्त्री देउवाले साहलाई बधाई दिएका थिए।