प्रचण्डलाई रामचन्द्रको जवाफ : हामी हार व्यहोर्न तयार छौं, तर न्यायको पक्षमा लड्न छाड्ने छैनौं

 

काठमाडौं १८ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस हार व्यहोर्न तयार रहेको बताएका छन्। इतिहासमा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश र जनता बचाउने काम गरेको भन्दै उनले फेरि हार्न तयार रहेको बताएका हुन् ।

 

पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई बुधबार काठमाडौंमा प्रशिक्षण दिने क्रममा प्रचण्डले स्थानीय तहको चुनावी जितका आधारमा कांग्रेसको अ‌हंकार बढे एमालेकै जस्तो हालत बनाइदिने चेतावनी दिएका थिए ।

यो लगत्तै कांग्रेस वरिष्ठ नेता पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मेन्सन गरेर ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘इतिहासमा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश र जनता बचाउने काम गरेको छ। त्यसैले हामी हार व्यहोर्न तयार छौं। तर राष्ट्र, जनता र न्यायको पक्षमा लड्न छाड्ने छैनौं।’

प्रचण्डले भनेका थिए, ‘हिजो एमालेसँग हामीले गठवन्धन र पार्टी एउटै बनाउँदा राम्रो उद्देश्य राखेका थियौं । तर, एमालेको लिडरसिपमा अति धेरै अहंकार आयो । अहिले कांग्रेसमा पनि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ । हामीले प्रधानन्त्री बनायौं । मिहिनेत गरेरै बनाएको हो । देउवा नै प्रधानमन्त्री भइराख्नुस् भन्ने छ । तर हामी चिन्तित छौं । कांग्रेसमा पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन भन्ने धेरै ठाउँमा देखिएको छ । भोलि हामीले एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउनु नपरोस् ।’

 

शेयर गरौ

ताजा अपडेट