२९ पालिकाको नतिजा , एमाले १३, कांग्रेस ९, माओवादी ५ नेकपा एस २

काठमाडौं १ जेठ । यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनअन्तर्गतको मत परिणाम अनुसार हालसम्म २९ वटा पालिकाको अन्तिम नतिजा आइसकेको छ । अहिलेसम्म नेकपा (एमाले) ले सबैभन्दा बढी १३ वटा स्थानीय तहका प्रमुख अध्यक्ष पदमा जित हासिल गरेको छ । नेपाली कांग्रेसले नौ स्थानीय तह जितेको छ ।

यस्तै, नेकपा (माओवादी केन्द्र) पाँच स्थानीय तहको प्रमुख अध्यक्षमा विजयी भएको छ । नेकपा (एकीकृत समाजवादी) ले दुई स्थानीय तह जितेको छ । एमालेका उम्मेदवार मनाङको चामे गाउँपालिका र ङिस्याङ गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् । मुस्ताङका चार पालिका वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, लोमन्थाङ गाउँपालिका, थासाङ गाउँपालिका र लो(घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्षमा पनि एमाले उम्मेदवार विजयी भएका छन् ।

यस्तै, डोल्पाको शे(फोक्सुण्डो गाउँपालिका, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका, बझाङको साइपाल गाउँपालिका र थलरा गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिका, म्याग्दीको मालिका गाउँपालिका र दार्चुलाको महाकाली नगरपालिकामा पनि एमाले विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार मनाङको नार्पाभूमि गाउँपालिका र नासों गाउँपालिका, मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् ।

यस्तै, डडेलधुराको गन्यापधुरा गाउँपालिका, गुल्मीको रेसुंगा नगरपालिका, डोटीको बडीकेदार गाउँपालिका, गुल्मीको गुल्मी दरबार गाउँपालिका, हुम्लाको खार्पुनाथ गाउँपालिका र बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्षमा पनि कांग्रेस उम्मेदवार विजयी भएका छन् ।

यसैगरी, नेकपा (माओवादी केन्द्र) का उम्मेदवार डोल्पाको जगदुल्ला गाउँपालिका, दैलेखको नौमुले गाउँपालिका, बागलुङको ताराखोला गाउँपालिका, उदयपुरको लिम्चुङबुङ गाउँपालिका र रोल्पाको थवाङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् ।

यस्तै, नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार डोल्पाको छार्काताङसोङ गाउँपालिका र काइके गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएका छन् । यी दुई पालिकामा एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।

शेयर गरौ

ताजा अपडेट