चितवन २६, बैशाख । चितवनको भरतपुर महानगरपालिका वडा नं. २५ का वडाध्यक्षमा सत्ता गठवन्धनले जनतासँग घुस खाएको आरोप लागेका र अख्तियारद्वारा छानविनको क्रममा रहेका विजय भुजेललाई उम्मेदवार बनाएको छ ।
भुजेल २०७४ को स्थनीय तहको निर्वाचनमा माओवादीबाट विजयी भएका भरतपुरका तीन जना वडाध्यक्ष मध्येका एक हुन् । उनै भुजेललाई सत्ता गठवन्धनले भरतपुर २५ को वडाध्यक्षमा फेरी दोस्रोपटक उठाएको छ । उनले नाता प्रमाणित गर्दा ५ लाख रुपैयाँ घुस खाएको आरोप छ ।
स्थानीय आस्था चौधरीको परिवारको नाता प्रमाणित गर्दा उनले ५ लाख घुस खाएको आरोप लागेको हो । चौधरीले आफ्नो श्रीमान् सुजनराम गुरौको मृत्युपश्चात पाउने चलअचल सम्पतीका लागि जेठी श्रीमतीका छोरा लिलाराज गुरौ र आफ्नो नाता प्रमाणित गर्दा वडाध्यक्षलाई ५ लाख दिएको जनाएकी थिइन् । सम्पतीको सट्टा आफू २० लाख लिन राजी भएको र त्यो मिलाइदिए बापत वडाध्यक्षले पैसा मागेको उनको आरोप छ ।
आफूले वडाध्यक्षलाई पैसा दिन नचाहेको भए पनि वडाध्यक्षको दबाबले पैसा दिनुपरेको चौधरीको भनाइ छ । २० लाखबाट ५ लाख कटाएर आफ्नो हातमा १५ लाखमात्र दिएको उनले बताउँदै आएकी छिन् ।
भुजेलले भष्ट्राचार गरेको भन्दैं अख्तियारको छानविन
भरतपुर महानगरपालिका–२५ नम्वर वडा कार्यालयमा अख्तियारले छापा थियो । २०७८ भदौं २९ गते अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडाको टोलीले वडा कार्यालयमा छापा मारेको थियो । वडामा अनियमितता भएको बारे परेको उजुरीका आधारमा अख्तियारले छापा हानेर आवश्यक कागजात संकलन गरेको थियो । वडाध्यक्ष विजयकुमार भुजेल विरुद्ध विभिन्न काममा भ्रष्टाचार गरेको भन्दै विभिन्न शिर्षकमा ५÷७ वटा उजुरी परेको अख्तियार कार्यालयले जानकारी दिएको छ ।
वडा कार्यालयबाट गलत सिफरिस दिएको, व्यक्तिगत प्रलोभनमा परी काम गरेको, विकास आयोजनामा हिनामिना गरेको, एउटै काममा दोहोरो भुक्तानी लिएको लगायतका काम वडाध्यक्ष भुजेलले गरेको अखितयारको आरोप छ ।
चार वडा सदस्यले मागेका थिए राजीनामा
भरतपुर–२५ का ४ जना वडा सदस्यले वडा अध्यक्ष विजय भुजेल अनियमितता गरेको र सेवाग्राहीसँग घुस लिएको भन्दै राजिनामाको माग गरेका थिए । भरतपुर वडा नं २५ का ४ जना वडा सदस्यले विज्ञप्ती नै निकालेर नाता प्रमाणित गर्दा रकम लिने विषयको कुराले वडाध्यक्षको नियत प्रष्ट भएकोले उनीसँग मिलेर काम गर्न नसकिने भन्दै राजीनामा मागेका थिए ।
फेरी वडाध्यक्ष उम्मेदवार
घुस लिएको आरोप लागेका तथा अख्तियारद्वारा अनियमिता गरेको अभियोगमा छानविनमा परेका उनै भुजेललाई माओवादी केन्द्रले सत्ता गठवन्धनको नाममा वडाध्यक्षको उम्मेदवार बनाएको छ । अघिल्लो कार्यकालमा नै बदनामी कमाएका भुजेल जनताको घरदैलोमा भोट माग्न हिड्दा असुहाँउदो देखिएको वडा एक जनप्रतिनिधीले बताए । ‘माला खाँदा लगाएर भोट माग्न हिडेको देख्दा पनि अचम्म लाग्छ, के नाक देखाएर हिड्न सकेको होला’ ति वडासदस्यले भने, ‘यस्ता आरोपितलाई टिकट दिने पार्टी त उस्तै भयो भयो, जनताले भने भोट दिन हुँदैन । उनले माओवादीले अरु मान्छे नै नपाएजस्तो गरी भुजेललाई फेरी वडाध्यक्ष बनाउनु जनताप्रतिको वेइमानी भएको बताए । बदनाम कमाएका ब्यक्तिलाई वडाध्यक्ष बनाएको भनेर कांग्रेसका वडाका कार्यकर्ता पनि रुष्ट बनेका छन् । सत्ता गठवन्धनको भागबण्डामा भरतपुर वडा नं. २५ माओवादीको भागमा परेको थियो ।