चितवन २५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले भरतपुर महानगरलाई माओवादी केन्द्रले पार्टी कार्यालय बनाएको आरोप लगाउनु भएको छ ।
नारायणगढको क्याम्पाचौरमा एमालेले गरेको चुनावी सभामा बोल्दै पाण्डेले भरतपुर महानगरपालिका हो कि पार्टी कार्यालय हो जनताले बुझ्न नसकेको बताउनुभयो । जनताको करबाट चलेको कार्यालय कुनै अमुक दलको पार्टी कार्यालय बनाउन हुदैन उहाले भन्नुभयो ‘तँ कुन पार्टीको मानिस होस् भनेर सोधेको पनि पाएको छु ।’ महानगरपालिका भर्तीकेन्द्र बनाउने काम भएको छ । महिनाको १५ हजार जागिर खुवाएर कार्यकर्ता बनाउनु भएको छ । हाम्रो नेतृत्व विजय भएर आएपछि युवाहरुलाई स्वरोजगार बनाउने दावी गर्नुभयो ।
उहाले मेयरमा विजय सुवेदी र उपमेयरमा हिमला सुवेदी को नेतृत्व आएपछि महानगरपालिकाको बिग्रेको परिस्थितिलाई सुधार्ने बाचा गर्नुभयो । नेपालकै सुन्दर महानगरपालिका र नगरपालिका बनाउने उद्देश्यका साथ हामी हिडेका छौं । अहिलेको जस्तो अवस्थाको अन्त्य गर्नेछौ । उपाध्यक्ष पाण्डेले देशमा राष्ट्रवादीहरुको एकता चितवनको माडी र भरतपुरबाट सुरु भएको बताउनुभयो ।