भरतपुर । उमेरले ५१ वर्ष लागेपनि पहिलोपटक जनप्रतिनिधिका लागि उम्मेदवार बन्नुभएका नेकपा (एमाले)का नेता सनतकुमार लामिछाने भरतपुरमा अनुभवी र समाजसेवीका रुपमा परिचित हुनुहुन्छ । यतिबेला भरतपुर महानगरपालिका वडा नं. ७ निवासी लामिछानेलाई एमालेले सोही वडाको अध्यक्ष पदमा उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धाका लागि मैदानमा उतारेको छ ।
एमालेको राम्रो जनाधार भएको वडा नं. ७ मा अघिल्लो पटक अर्थात् २०७४ को स्थानीय निर्वाचनमा एमालेले निर्वाचन जितेको थियो । अब फेरि पनि ७ नम्बर वडामा एमालेले आफ्नो साख फर्काउन लामिछानेलाई मैदानमा उतारेको हो ।
वडा नम्बर ७ को परिदृष्य भने यसपटक अल्लि फरक छ । अघिल्लो निर्वाचनमा राजेन्द्रमणि काफ्लेले एमालेबाट यस वडामा निर्वाचन जित्नुभएको थियो । यसपालि काफ्ने पनि यसै वडामा फेरि वडाध्यक्षको उम्मेदवार बन्नुभएको छ, तर फरक चिन्ह र साथ लिएर । अघिल्लो निर्वाचनमा काफ्लेलाई साथ दिने सनत लामिछानेलगायतको एमालेको ठूलो समूह काफ्लेको साथमा छैन । अघिल्लो निर्वाचनमा काफ्लेलाई साथ दिनेहरुको एउटै गुनासो छ–‘हामी सबैको साथ र विश्वासलाई धोका दिएर उहाँ आफ्नो बाटो लाग्नुभो । अघिल्लो निर्वाचनमा हामीले जसलाई साथ दियौँ, उसैले यसपटक धोका दियो । यसैले अहिले यस वडामा एमालेको साख जसरी पनि फर्काउछौँ ।’
भरतपुर महानगरपालिकाको वडा नम्बर ७ शिक्षा, स्वास्थ्य र नयाँ वस्ती निर्माणको ढंगले आवासीय वडाको रुपमा परिचित छ । नयाँ पर्यटकीय गन्तव्य बोकेको पश्चिम चितवनको मूल द्वारको रुपमा समेत यो वडा परिचित छ । यसैले त आफू निर्वाचित भएपछि यस वडालाई लामिछानेले महानगरकै उत्कृष्ट वडा बनाउने बताउनुभएको छ । उहाँ भन्नुहुन्छ–‘सुशासन र विकास निर्माणका हिसाबले म ७ नम्बर वडालाई महानगरकै उत्कृष्ट वडा बनाउँछु ।’
उत्कृष्ट वडा बनाउँछु मात्रै भनेर भएन । यसका लागि पहिलो कुरा त निर्वाचन जित्नु नै प¥यो र प्रतिवद्धता अनुसार काम पनि गर्नुप¥यो । यसैले त निर्वाचन सजिलै जित्ने आधार सहित लामिछानेले आफ्नो प्रतिवद्धता यसरी सुनाउनुहुन्छ–‘अघिल्लो निर्वाचनमा एमालेले यो वडा जितेको हो । अझ यसपटक यस वडामा नयाँ मतदाता थपिएसँगै एमालेको संगठन अझ राम्रो बनेको छ । हामीले सारेका चुनावी नारा अनुसार यस वडालाई सुन्दर, व्यवस्थित र प्रविधिमैत्री बनाउँछौ ।’
यस वडामा विभिन्न शैक्षिक संस्था, संघसस्थाका कार्यालय, आवास क्षेत्र, खेल मैदान हुँदै अहिले आवासीय क्षेत्र समेत यही वडामा विस्तार भएको छ । यसैले पनि वडाभित्र सडक बत्ती, हरियाली किनारा, व्यवस्थित ढल, साइकल लेनसहितको कालोपत्रे सडक बनाउने कुरा लामिछानेको प्रतित्रद्धताभित्र परेका छन् ।
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसमेत यही वडामा पर्दछ । यसैले वडाबासीहरुलाई क्यान्सर अस्पतालबाट प्रदान गर्ने विशेष प्रकारका उपचार सेवा निःशुल्क गर्न वा विशेष छुटको व्यवस्था गर्न पहल गरिने पनि उहाँको योजनामा परेको छ ।
विसं २०२८ भदौ ११ गते जन्मनुभएका लामिछानेले २०४३ सालमा विद्यार्थी संगठनबाट राजनीतिक यात्राको सुरुवात गर्नुभएको थियो ।
राजनीतिमा सक्रिय हुँदै २०४७ सालमा उहाँले पार्टी सदस्यता लिनुभयो । विद्यार्थी आन्दोलनमा सक्रिय लामिछानेले स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ ।
पञ्चायत विरोधी आन्दोलनमा उहाँले पार्टीको निर्देशमा काम गर्नुभयो । राजनीतिक जीवन निर्वाह गर्ने क्रममा उहाँले पञ्चायत विरुद्ध बहुदलको पक्षमा महत्वपूर्ण गतिविधि गर्नुभयो । राजाको प्रत्यक्ष शासन कालमा निरंकुश शासन लडाउन सक्रिय भूमिका खेल्नुभयो ।
भरतपुर ७ नम्बर वडामा २०७०–०७३ मा उहाँले पार्टीको वडाध्यक्ष भएर काम गर्नुभयो । त्यसपछि उहाँ नेकपा एमालेको जिल्ला कमिटी सदस्य हुनुभएको छ ।
पार्टीका अलवा लामिछानेले आफ्नो जीवन निर्वाह गर्न व्यवसाय पनि गर्नुभएको छ । युरो मेटल प्याकेजिङमा उहाँ प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा हुनुहुन्छ । श्रीमती, एक छोरा, एक छोरी र बुहारीका साथ उहाँको पारिवारिक जीवन सुखमय रुपमा चलिरहेको छ । आफू जनप्रतिनिधिको रुपमा नभएपनि वडाको विकास निर्माण र गतिविधिमा लामिछाने राम्रोसँग परिचित हुनुहुन्छ । विभिन्न गतिविधिमार्फत वडाको विकास निर्माणमा भूमिका खेल्नुभएका लामिछानेले वडा अध्यक्ष निर्वाचित भएमा जनताको सेवकको रुपमा आफ्नो समय खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
मित्रवत व्यवहार राखेर कार्यालयमा मुस्कान सहितको जनताको सेवामा आफ्नो कार्यकाल पूरा गर्ने उहाँले बताउनुभएको छ । वृद्धवृद्धालाई सम्मान, युवालाई अवसर बालबालिकालाई शिक्षा, स्वास्थ्य, विकास, हरियाली स्मार्ट वडा बनाउन आफ्नो भूमिका रहने उहाँको प्रतिबद्धता छ ।
राजनीति र व्यवसायमा उत्तिकै क्रियाशिल लामिछाने सामाजिक सेवामा पनि आवद्ध हुनुहुन्छ । रेडक्रमसमा आजिवन सदस्य, लायन्स क्लब कृष्णपुरमा अध्यक्षको रुपमा सेवा गरिसक्नुभएका लामिछानेले क्यान्सर सेवा समाज, अर्वुद रोग निवारण संघ र हेल्पिङ ह्याण्डमा समेत आवद्ध भएर आफ्नो समाजसेवाको यात्रालाई अगाडि बढाइरहनु भएको छ ।
